विद्यार्थीले प्रदर्शन गर्दै शिक्षा कार्यालयमा लगाए ताला

ताप्लेजुङ, / विभिन्न विद्यार्थी सङ्गठनले संस्थागत विद्यालयको चर्को शुल्क वृद्धिको विरोधमा बिहीबार जिल्ला शिक्षा कार्यालय ताप्लेजुङमा तालाबन्दी गरेका छन् । शिक्षा कार्यालयमा तालाबन्दी गरेलगत्तै प्रहरीले ताला फोडेपछि कार्यालय परिसरमै विद्यार्थीले नाराबाजी समेत गरेका छन् ।सरकारले निजी तथा संस्थागत विद्यालयका लागि निर्धारण गरेको शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ विपरित शुल्क वृद्धि गरेको भन्दै वृद्धि गरेको शुल्क तत्काल फिर्ता गर्न र मापदण्ड निर्देशिका पालना गर्न माग गर्दै विद्यार्थी सङ्गठनले शिक्षा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियु, नेविसङ्घ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गर्नुका साथै निमित्त जिल्ला शिक्षा अधिकारी हेम पालुङ्वालाई ध्यानाकर्षणपत्र समेत बुझाएका छन् ।करिव ५० जनाको सङ्ख्यामा गएका विभिन्न सङ्गठनमा आवद्ध विद्यार्थीले सरकारले शिक्षालाई सबैको पहुँचमा पु¥याउने र निःशुल्क व्यवस्था गर्नुपर्नेतर्फ ठोस पहलकदमी नदिएको, स्थानीय तहलाई माध्यमिक तहसम्म व्यवस्थापन, अनुगमन र स्थानीय पाठ्यक्रम बनाएर लागू गर्नेतर्फ सन्तोषजनक कार्य नभएको भन्दै मापदण्ड र शिक्षा नियमावली तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षपत्रमा उल्लेख गरिएको छ ।

यस्तै सरकारले निर्माण गरेको नीति तथा योजनाको कार्यान्वयन गर्न, निजी विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता गर्न, सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न, सार्वजनिक शिक्षाप्रति विश्वास बढाउन प्रभावकारी अनुगमन, निर्देशन र आवश्यक कार्यहरु तत्काल अगाडि बढाउनुपर्ने जस्ता मागहरु पनि विद्यार्थी सङ्गठनले अघि सारेको अनेरास्ववियुका केन्द्रीय सदस्य प्रजिन हाङ्बाङले बताए । विद्यार्थी सङ्गठनले बुधबार प्याब्सन कार्यालयमा तालाबन्दी गरेका थिए भने प्याब्सन जिल्ला अध्यक्षलाई ध्यानकर्षणपत्र समेत बुझाएका थिए । प्रयास लिम्बू


प्रतिक्रिया दिनुहोस्