तोक्पेगोला समाजमा सोनाम डोमा प्रकाशित मिति : 3 May, 2018 2:59 pm ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङस्थित तोक्पेगोला समाज सेवा समिति अध्यक्षमा सोनाम डोमा शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न समितिको दोस्रो जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । तोक्पेगोला समाज सेवाका नवनिर्वाचित कार्यसमिति सामुहिक तस्बिर खिचाउँदै । तस्बिर : प्रयास । कार्यसमिति उपाध्यक्षमा पासाङ शेर्पा, सचिव मिङ्मा शेर्पा, सहसचिव हिन्डुक्पा शेर्पा र कोषाध्यक्षमा पासाङ ल्हामु शेर्पा चयन हुनुभएको छ । अन्य सदस्यहरुमा ङिमा शेर्पा, नुपु शेर्पा, ङिजोम शेर्पा, फुपुदोर्जे शेर्पा, उर्जेन लुन्डुव शेर्पा, लाक्पा छिरिङ शेर्पा र पासाङ ढोक्प्या रहनुभएको छ । सीमान्तकृत सूचीअन्तर्गत रहेको तोक्पेगोले समुदायको जातीय संस्था तोक्पेगोला समाज सेवा समितिको जिल्ला अधिवेशनले महिलालाई नेतृत्वको जिम्मेवारी सुम्पेको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. ५ साविक पापुङ गाविसलाई सीमान्तकृत तोक्पेगोले समुदायको मुख्य बसोबास रहेको स्थान मानिन्छ । हाल जिल्लाको अन्यत्र क्षेत्र तथा सदरमुकाम लगायत विभिन्न ठाउँमा पुगेर व्यापार व्यवसाय आदि पेशामा उनीहरु संलग्न रहँदै आएको पनि बताइएको छ । यता अधिवेशन उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङका अध्यक्ष भद्र बोखिम, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) केन्द्रीय सदस्य चन्द्र पन्दाक (प्रयास), पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत विभिन्न जातीय सङ्घ/संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो । -प्रयास लिम्बू