पोर्चुगलको बेरोजगार दर झर्यो निम्न विन्दुमा प्रकाशित मिति : 1 May, 2018 9:23 am लिसवन, पोर्चुगल / पोर्चुगलको बेरोजगार दर सन् २००४ को अप्रिलपछि फेब्रुवरीसम्मकै सबैभन्दा निम्न विन्दुमा झरेको यहाँको राष्ट्रिय तथ्याङ्क विभाग (आइएनई) ले सोमबार सार्वजनिक गरेको छ । आइएनईले फेब्रुवरीका लागि बेरोजगारी दर ७.८ प्रतिशत हुने अपेक्षा गरेकोमा यसमा ०.२ प्रतिशत कम अर्थात् ७.६ भएको बताएको छ । यो जनवरीको तुलनामा ०.३ प्रतिशतले कमी हो । सन् २०१६ को सोही महिनाको तुलनामा यसवर्षको बेरोजगारी दरमा ४.३ प्रतिशत र सन् २०१७ को तुलनामा २.३ प्रतिशतले घटेको र यसलाई महत्वपूर्ण सुधार मानिएको सरकारले जनाएको छ । परम्परागतरूपमा पर्यटनका लागि वर्षको शुरू त्यति उत्साहजनक नहुने मानिएपनि बेरोजगार दर घट्नुलाई एक सकारात्मक सूचकका रूपमा लिइएको आइएनईले जनाएको छ । रासस/सिन्ह्वा