भूतपूर्व गोर्खा सैनिकहरु माथिको अन्याय राष्ट्र कै समस्या हो : सभामुख महरा प्रकाशित मिति : 29 April, 2018 7:09 pm काठमाडौं, / संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले गोर्खा भूतपूर्व सैनिकहरु माथि बेलायतले गरेको अन्याय राष्ट्रकै समस्या भएको बताएका छन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को टोलीसँग शनिबार भएको भेटर्वार्तामा महराले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरु माथि गरिरहेको अन्याय गोर्खाहरुको मात्र समस्या नभई राष्ट्रकै समस्याको रुपमा लिएको बताएका हुन् । बेलायत सरकारले गोर्खाहरु मागि गरेको अन्यायबिरुद्ध गोर्खाहरुको समान अधिकारका लागि लडिरहेको संस्था गेसोको टोलीसँगको भेटवार्तामा उनले गोर्खाहरुको समस्या समाधान गर्न सरकारले गम्भिरता पुर्वक लिनु पर्ने बताए । ‘गोर्खा सैनिकहरुको समस्या गोर्खाहरु मात्र नभई राष्ट्रकै समस्या हो, यसलाई समाधानको लागि सरकारले गम्भिरताका साथ लिनुपर्छ ।’उनले आफु परराष्ट्र मन्त्री भएको बेला गोर्खाहरुको समस्या समाधान गर्न सशक्त रुपमा कुरा उठाएको बताउँदै अझै पनि आफनो ठाउँबाट सक्दो पहल गर्न टोलीलाई प्रतिबद्धता व्यक्त गरे । उनले नेपालका लागि बेलायती राजदुत रिर्चाड मोरिससँग शुक्रबार भेटवार्ता भएको बताउँदै भेटमा गोर्खाहरुको समस्या समाधानको विषयमा कुरा भएको समेत बताए । उनले भने,‘मेरो हिजै मात्र राजदुत रिर्चाड मोरिससँग भेटर्वार्ता भएको थियो, उनीसँग गेसोले उठाएको विषयमा कुरा भएको थियो, समाधानका लागि सकारात्मक पाए ।’ गेसोको सभापति कृष्ण कुमार राईको नेतृत्वमा सभामुख महरालाई उनकै निवासमा भेटन् पुगेको टोलीले गोर्खा सैनिकहरु माथिको विभेद समाधानका लागि गठन भएको प्राविधिक वार्ता समितीको बारे जानकारी गराएका थिए । उक्त वार्ता समितीले समस्या समाधानका लागि तयार पारेको प्रतिवेदन नेपाल र बेलायत सरकारलाई बुझाएको समेत जानकारी गराउँदै नेपाल सरकारलाई छिटो भन्दा छिटो समिती गठन गर्न आवश्यक पहल र सहयोग गरिदिन अनुरोध गरे । टोलीले प्राविधिक समितीले तयार गरेको प्रतिवेदन समेत सभामुख महरालाई हस्तान्तरण गरे । गेसोको टोलीमा सभापति राईसँगै, उपसभापतिद्धय मणि किरात बान्तावा, डम्बर बहादुर लिम्बु, महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन, जसबहादुर गुरुङ, वीरध्वज राई, सुनिता गुरुङ, पूर्ण कुमार गुरुङ, पदम देवी गुरुङ, कमला गुरुङ, र सजिन राई लगायत समावेश थिए । यसअघि गेसोले प्राविधिक वार्ता समितीले तयार गरेको प्रतिवेदन बुझाउँदै उपराष्ट्रपति नन्द किशोर पुन पासाङ, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,माओवादी नेता नारायण काजी श्रेष्ठ लगायतका नेताहरुलाई भेटेर नेपालको तर्फबाट वार्ता समिती चाँडो गठन गरि दिन माग गरिसकेका छन् ।