राससकर्मी श्रेष्ठसहित विभिन्न फोटो पत्रकार सम्मानित प्रकाशित मिति : 26 April, 2018 8:47 pm काठमाडौँ / नेपाल फोटो पत्रकार समूहले आयोजना गरेको राष्ट्रिय फोटो पत्रकारिता सम्मानबाट ‘दि हिमालयन टाइम्स’का फोटो पत्रकार स्कन्द गौतम सम्मानित हुनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले उहाँलाई वर्षको उत्कृष्ट फोटो पत्रकारिता पुस्कारबाट सम्मानित गर्नुभयो । पुरस्कारको राशि रु एक लाख र प्रमाणपत्र रहेको छ । राजनीतिक फोटो विधातर्फ राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ सम्मानित हुनुभएको छ । रु २५ हजार नगद, सम्मानपत्रबाट सभामुख महराले उहाँलाई सम्मान गर्नुभएको हो । यस्तै ‘स्वतन्त्र फोटो पत्रकारिता’ पुरस्कारबाट नरेशकुमार श्रेष्ठ, खेलकुद फोटो पत्रकारितातर्फको पुरस्कार कान्तिपुरका पंकज श्रेष्ठ र मनोरञ्जन विधातर्फ डिसी नेपालका आर्यन धिमाल पुरस्कृत हुनुभयो । यसैगरी ‘मोफसल फोटो पत्रकारिता पुरस्कार’बाट कान्तिपुर दैनिकका मनोज पौडेल सम्मानित हुनुभयो । त्यस्तै ‘महिला फोटो पत्रकारिता पुरस्कार’बाट नयाँ पत्रिका दैनिककी चन्द्रकला श्रेत्री, ‘व्यावसायिक फोटो पत्रकारिता पुरस्कार’बाट आर्थिक अभियान दैनिकका सागर श्रेष्ठ र दैनिक ‘जनजीवन फोटो पत्रकारिता विधा’मा दि हिमालयन टाइम्सकै स्कन्द गौतम पुरस्कृत हुनुभयो । यस्तै ‘क्रियाशील फोटो पत्रकारिता’को पुरस्कार धादिङ पोस्ट डटकमका नारायण सिलवाल, ‘अनलाइन फोटो पत्रकारिता विधा’तर्फ प्रविन कोइराला र ‘पर्यटन तथा संस्कृति फोटो पत्रकारिता’तर्फ राजधानी दैनिकका सुशीलकुमार श्रेष्ठ पुरस्कृत हुनुभयो । सबै विधाका पुरस्कृत फोटो पत्रकारको पुरस्कारको राशि रु २५ हजार नगद, प्रमाणपत्र रहेको छ । यस्तै लाइफ टाइम्स अचिभमेन्ट अवार्डबाट वरिष्ठ फोटो पत्रकार गोपाल चित्रकार पुरस्कृत हुनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख कृष्णबहादुर महराले जोखिमपूर्ण काम भए पनि फोटो पत्रकारले सत्यको उजागर गर्ने भएकाले आगामी दिनमा थप सफलताको कामना गर्नुभयो । उहाँले इतिहासको साक्षीका रुपमा रहने फोटो पत्रकारको मेहनत, कला र सीपको सम्मान गर्दै आगामी दिनमा थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत्बहादुर सुनार र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटालगायतको पनि उपस्थिति थियो । रासस