दिल्लीको अर्को हार, सन्दीपले अझै मौका पाएनन् प्रकाशित मिति : 22 April, 2018 11:17 am बैंगलुरु / रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा शनिबार दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको छ । पाँचौं खेलमा बैंगलोरको यो दोस्रो जित हो । नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीको भने पाँचौं खेलमा यो चौथो हार हो । दिल्लीको पाँचौं खेलमा पनि सन्दीपले मौका पाएनन् । १ सय ७५ रनको लक्ष्य पछ्याएको बैंगलोरले एबी डि भिलियर्सको उच्च प्रदर्शनपछि २ ओभर अघिनै ४ विकेटको क्षेतिमा १ सय ७६ रन बनाउँदै जित हासिल गरेको छ । डी भिलियर्सले ३९ बलमा अविजित ९० रन बनाउँदै टोलीलाई सानदार जित दिलाएका थिए । ३९ बल खेलेका उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । मन्दीप सिंहले अविजित १७ रन बनाउँदै डी भिलियर्सलाई साथ दिएका थिए । कप्तान विराट कोहलीले २६ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए भने क्विन्टन डी ककले १८ र कोरे एन्डरसनले १५ रन बनाए । दिल्लीका ट्रेन्ट बोल्ट, ग्लेन म्याक्सवेल र हर्सल पटेलले समान १ विकेट लिए । त्यसअघि रिसव पन्त र श्रेयस ऐयरको अर्धशतकको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा १ सय ७४ रन बनाएको थियो । रिसवले ४८ बलमा ६ चौका र ७ छक्काका साथ ८५ रन जोडे । श्रेयसले ३१ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए । राहुल टेवाटियाले अविजित १३ रन थपे । बैंगलोरका युजभेन्द्र चाहालले २ तथा उमेश यादव, वासिङटन सुन्दर र कोरे एन्डरसनले समान १ विकेट लिए । बैंगलोरका डी भिलियर्स म्यान अफ दी म्याच घोषित भए । आइपिएलमा आइतबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स तथा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी