११० औं बिपि जयन्ती ताप्लेजुङमा पनि मनाइयो प्रकाशित मिति : 11 September, 2023 11:23 am ताप्लेजुङ । ताप्लेजुङमा आईतबार नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्ती मनाइएको छ । सामुदायिक भवन (सिटिहल)मा एक कार्यक्रमकाबीच नेपाली काङ्ग्रेस ताप्लेजुङले बिपि जयन्ति दिवस तथा अन्तक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । नेपाली कांग्रेस तथा नेपाली साहित्यकारहरुले देश र विदेशमा विभिन्न कार्यक्रमका साथ कोइरालालाई सम्झदै आएको नेपाली काङग्रेस ताप्लेजुङका सचिव युक हाङबिर हाङगाम (डम्बर)ले बताउनुभयो । यता कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाली काङग्रेस सहमहामन्त्रि महालक्ष्मी डिना उपाध्यायले पार्टी भित्र बिपि बिचारले मात्र संगठन मज्बुत हुने हँुदा बिपिले देखाएको मार्गमा सबै लाग्न अनुरोध गर्नुभयो । कार्यक्रमका बिशिष्ट अतिथि कोशी प्रदेशसभा सदस्य खगेनसिंह हाङगामले जिल्लामा प्रहरी र आफुबीच भएको घटनाको जवाफ इट्टाको सट्टामा पत्थरले दिएको बताउनुभयो । आफु परिवारसहित बसेको निबासमै प्रहरीको टोलि आएर अराजक शैलीमा आक्रमणको प्रयास गरेको उल्लेख गर्दै प्रतिकारका लागि प्रहरी प्रमुखको परिवारलाई समेत जोडेको प्रदेश सभा सदस्य हाङगामको भनाई थियो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गोमा भट्टराई, प्रतिनिधिसभा सदस्य लिलादेबी बोखिम, महिला संघका केन्द्रिय अध्यक्ष उषा राउत, बिभिन्न बिभागका केन्द्रिय सदस्य, जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य तथा बिभिन्न भातृ संगठन साथै शुभेच्छुक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।