टिप्ताला भञ्जाङ नाका भदौ २४ बाट खुल्ने प्रकाशित मिति : 26 August, 2023 8:10 pm ताप्लेजुङ । नेपाल चिनबिचको टिप्ताला भञ्जाङ नाका भदौ चौथो सातादेखि खुल्ने भएको छ । सन् २०१९ मा चीनको वुहानमा कोरोना संक्रमण देखिएपछि बन्द भएको टिप्ताला भन्ज्याङ नाका सेप्टेम्बर १० (भदौ २४) देखि खुल्ने फत्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले जानकारी दिए । उनले भने,“सेप्टेम्बर १० यानकी भदौ २४ गते देखि नाका खुल्ने कुरा छ । डिङ्जे काउन्टीका प्रशासन प्रमुखसँग हामीले भर्चुअल बैठक समेत गरेका थियौँ । जिल्ला प्रसाशन कार्यालय मार्फत नाका खोलाईदिन सरकारसमक्ष पहल गरिदिन अनुरोध समेत गरेका थियौँ । सबैको पहल कदमीले भदौ २४ देखि नाका खोल्ने चिनबाट खबर आएको छ । नाका खुलेसँगै स्थानीयलाई सहज हुने छ भन्ने विश्वास लिएको छु ।” नाका खुलेपछि विशेषगरि ओलाङचुङगोलाका बासिन्दालाई सहज हुने छ । तिब्बतको मुख्य व्यापारिक केन्द्र रिउमा पुगेर यहाँका स्थानीयलाई आवश्यक सामाग्री खरिद गर्न साथै यताबाट गलैँचा, घिउ र जडिबुटी निर्यात हुन नसक्दा ओलाङचुङगोला बासि महंगो खर्च गरेर सदरमुकाम फुङलिङबाट सामान ढुवानी गरि रहेका छन् । नाका खुल्ने भएपछि उक्त बाध्यतात्मक स्थितिको अन्त्य हुने गाउँपालिकाले जनाएको छ । तस्विर सौजन्य राजिव मावोहाङ