ताप्लेजुङ सरोकार केन्द्रद्वारा सिदिङ्वाका पहिरो पीडितलाई राहत रकम वितरण

ताप्लेजुङ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले सिदिङ्वा गाउँपालिका पहिरो पीडितलाई राहत रकम वितरण गरेको छ । गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर सरोकार केन्द्रले बिहीवार उक्त राहत रकम वितरण गरेको हो । 

केन्द्रले मृत्यु र बेपत्ता परिवारलाई जनही १२ हजारका दरले ७२ हजार, बिस्थापित २७ परिवारलाई प्रति परिवार २५ हजारका दरले ६ लाखा ५० हजार रुपैयाँ बराबरको चेक तथा नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिनुभएको छ । 

त्यस्तै उच्च जोखिम २० परिवारलाई प्रति परिवार ६ हजार रुपैयाँका दरले  १ लाख २० हजार रुपैयाँ, बिरामी दुई जनालाई जनही १० हजारका दरले २० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।  

यस्तै यादव बूढा क्षेत्रीको गाईले बेपत्ता भएकाहरूको खोजी गर्न सहयोग गरी खबरीको काम गरेको भन्दै उक्त गाईलाई गौमाता भनेर नगद ५ हजार रुपैयाँ गरि कुल ८ लाख ६७ हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले बताउँनुभयो ।

सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठ सँगै महासचिव सन्तोष मादेन, सहयोग संकलन समितिका संयोजक मिङमा डण्डु लामा, सरोकार केन्द्रका सदस्य अनिल खड्का सिदिङवा गाउँपालिका अध्यक्ष मान ब राई उपाध्यक्ष कृष्ण कुमारी कडरिया, ५ नम्बर वडा अध्यक्ष अम्मर लिम्बू, ६ नम्बर वडा अध्यक्ष रत्नकुमार लिङदेन, निमित्त प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघा साथै समाजसेवीहरुको उपस्थितिमा उक्त राहत रकम वितरण गरिएको हो ।

सिदिङवा गाउँपालिका अध्यक्ष राईले सरोकार केन्द्रको सहयोगी हातहरु प्रति आभार तथा धन्यबाद व्यक्त गर्नु भएको छ । विपत्‌को समयमा सरोकार केन्द्र सधैँ साथमा हुने सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनुभएको छ । उहाँले भन्नु भयो, ‘विपत्‌को समयमा हामी साथमा हुने छौ, र  ताप्लेजुङबासीको दुखमा सरोकार केन्द्र सदैव साथमा रहने ।’ दाताहरूको आशीर्वाद र माया प्रति धन्यबाद व्यक्त गर्दै उक्त मायाले पीडितहरूको घाउमा मलम पट्टि गर्न मिलेको पनि उहाँले बताउँनुभयो । 

यो सँगै सरोकार केन्द्रले मृत प्रति श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना समेत प्रकट गरेको छ । भोलि सिरिजङघा गाउँपालिकाका पहिरो पीडितहरूलाई र त्यसपछि मैवाखोला गाउँपालिकाका पहिरो पीडितलाई राहत रकम वितरण गर्ने सरोकार केन्द्रले जनाएको छ ।

गत असार दुई गते राती अविरल वर्षा सँगै आएको बाढी र पहिरोले सिदिङ्वमा तीन ब्यक्तिको मृत्यु भएको थियो भने तीन जना अझै सम्म पनि बेपत्ता रहेका छन् । पालिकाको वडा नम्बर ६ मेहेले ,७ सुरुङ्खिम, ३ आङ्खोप बढी प्रभावित भएको थियो । 


प्रतिक्रिया दिनुहोस्