मेरिङदेन गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्धघाटन प्रकाशित मिति : 24 July, 2023 8:28 pm ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार उद्धघाटन गरिएको छ । प्रदेश सभाका सदस्य खगेनसिँह हाङगामको प्रमुख आतिथ्यतामा सोमबार उद्धघाटन गरिएको हो । गाउँपािलकाले सोमबारबाट आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुचारु गरेको छ । आफ्नै प्रशासकीय भवनबाट सेवा आरम्भ गर्ने मेरिङदेन ताप्लेजुङको चौथो स्थानीय तह भएको छ । यस अघि जिल्लाको सिरीजंघा गाउँपालिका, फुङलिङ नगरापालिका र पाथीभरा याङवरक गाउँपालिकाले आफ्रनै प्रशासकीय भवन निर्माण सम्मपन गरी सेवा प्रवाह गरिरहेको छ । बाँकी रहेका अन्य ५ ओटा पालिकाले भाडामा कार्यालय सञ्चालन गरिरहेका छन् । गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगामले गत असार १५ गते निर्माण सम्पन्न भएको पालिकाको भवन समुद्घाटन संगै नवनिर्मित भवनबाटै सेवा आरम्भ भएको जानकारी दिनुभयो । ५ करोड ६१ लाख ४७ हजार ४ सय ४१ रुपैयाँको लागतमा भवन निर्माण कार्य पूरा भएको पालिकाका ईञ्जिनियर पवन पौडेलले बताउनु भएको छ । पालिकाले निर्माण कम्पनी मालिकादेवी हिमालय जेभीसंग ५ करोड ६ लाख १९ हजार ९ सय ८८ रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी २०७७ साल असोज ५ गते सम्झौता गरेको थियो । कार्य सम्पन्न हुँदा कामको परिमाण थपिन गई सम्झौता भन्दा लागत केहि बढेको पालिकाले जनाएको छ । पालिकाले ६ करोड ६८ लाख ८३ हजार ५८ रुपैयाँ लागत अनुमान गरेर भवन निर्माणका लागि २०७७ साल असार २ गते बोलपत्र आवह्वान गरेको थियो । मालिकादेवी हिमालय जेभीले निर्माण जिम्मेवारी पाएपछि सम्झौता भई तत्कालिन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङवाङले भवनको शिलान्यास गर्नु भएको थियो ।