ताप्लेजुङका सञ्चारकर्मीहरुको निशुल्क आँखा परीक्षण 

ताप्लेजुङ । ताप्लेजुङमा कार्यरत सञ्चारकर्मीहरुको आँखा परीक्षण गरिएको छ ।  नेपाल पत्रकार महासङ्घको ६८औं स्थापना दिवस र नेपाल नेत्र ज्योति संघको ४५औं स्थापना दिवसको अवसर पारेर मंगलबार ताप्लेजुङका सञ्चारकर्मीहरुको आँखा परीक्षण गरिएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहकार्य तथा नेपाल नेत्र ज्योति संघको समन्वयमा आयोजित आँखा जाँच कार्यक्रममा ४१ जनाले सेवा प्राप्त गरेका छन् । जिल्लाका स्थानीय सञ्चारमाध्यमहरु रेडियो तमोर, रेडियो ताप्लेजुङ, रेडियो काबेली, उज्यालो पोष्ट दैनिक, फक्ताङ्लुङ दर्पण साप्ताहिक, अनलाइनहरु लगायत विभिन्न राष्ट्रियस्तरका सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुले आँखा जाँच गराएका हुन्।

आँखा परीक्षणसँगै निःशुल्क चस्मा र औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङका सचिव तथा नेपाल पत्रकार महासंघ शाखाका पूर्व अध्यक्षसमेत रहेका खगेन्द्र अधिकारीले जानकारी दिएका छन् ।  

फुङ्लिङस्थित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको आँखा जाँच कार्यक्रमको प्राविधिक सहयोग उपचार केन्द्रकै रहेको थियो । कार्यक्रममा उपचार केन्द्रका क्लिनिक इन्चार्ज काजी गुरुङ र क्लिनिकका कर्मचारी काजी थेबेले सहभागीहरूको आँखा जाँच गराएका थिए ।

नेपाल नेत्र ज्योति संघको ४५ औं स्थापना दिवस चैत १३ गते परेको थियो भने नेपाल पत्रकार महासङ्घको ६८ औं स्थापना दिवस चैत १६ गते पर्दछ । तस्बिर : सन्तोष पुर्कुटी/रासस


प्रतिक्रिया दिनुहोस्