आत्मा बस्ने घर

एलिना दियाली

नाम्जे,धनकुटा । आत्मा बस्ने घर भन्ने वित्तिकै तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ ? तर नेपालको धनकुटास्थित साँगुरिगढि गाउँपालिका ६ नाम्जेमा आत्मा बस्ने घर बनाईएको छ । गाउँपालिकाको ६ र ७ नम्बर वडामा मृत्यु भएका मगर जातिको पुर्खाहरुको ११३ वटा चिहानको ढुङ्गालाई संकलन गरी आत्मा सम्झिने ठाउँको रुपमा आत्मा बस्ने घर बनाईएको हो ।

मगर समुदायमा पहिले मलामि मात्रै जाने चलन भएको र लासलाई चिहान बनाएर राख्ने गरिन्थ्यो भने अहिले सम्पुर्ण मृत आत्माहरुलाई सम्झिने स्थलको रुपमा आत्मा घरको निर्माण गरिएको नाम्जे थुम्की सामुदायिक होम–स्टेका अध्यक्ष अनिल रानाको भनाई छ ।

अध्यक्ष रानाले भने,“आत्मा बस्ने घर भनेको पुर्खाहरुको स्मृति स्थल हो । सामुहिक चौतारा हो अरु खास केहिपनि होईन । मगरहरुको समाधिस्थल हो । पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि ति समाधिस्थलहरुलाई भत्काएर सामुहिक चौतारा बनाईएको हो । पहिला पहिला मान्छे मर्दा मलामी जान्थेउँ अहिले पर्यटकीय क्षेत्र भएको छ ।”

समुद्रि सतहबाट १७७० मिटर उचाईमा रहेको नाम्जे गाउँमा ९७ प्रतिशत मगर जातिको बसोबास रहेको छ । तिनै मगर समुदायले उनिहरुकै पुर्खाहरुको चिहान भत्काएर आत्मा बस्ने घर बनाउन र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न मञ्जुर भएसँगै २०६८ सालमा प्रसिद्ध अमेरिकन आर्किटेक्चर ईन्जिनियर ट्रभाईस प्राईसको टिमले १७ दिन लगाएर विश्वको १७ औँ अचम्मको घरको रुपमा आत्मा बस्ने घर बनाएका थिए ।

सोही वर्ष नाम्जे गाउँलाई समाचार संस्था सिएनएनले विश्वको १२ घुम्नै पर्ने गन्तब्य मध्ये ८ औँ गन्तब्यको रुपमा राखेको थियो । त्यससँगै आत्मा बस्ने घरकोे भ्रमण गर्न आउने पर्यटकको संख्यामा वृद्धि भएको होटल व्यवसायि सरिता राना मगर बताउँछिन् । उनले भनिन्,“ पहिले पर्यटकको चहल पहल थिएन । अहिले आत्मा घर हेर्नकै लागि पर्यटकहरु आउनु हुन्छ । आत्मा घरले होम स्टे साथै होटल व्यवसायलाई टेवा पुगेको छ ।”

मगर जातिको चिहानहरुका ढुङ्गा भेला गरेर बनाईएको भएपनि आत्मा बस्ने घरमा अन्य जातिका व्यक्तिहरु पनि आएर बत्ति बाल्न साथै आत्मा घर हेर्नकै लागि पर्यटक आउने गरेको व्यवसायि राना मगरको भनाई छ ।

नाम्जे ग्रामिण जनता विद्यालयमा भारतका शिक्षक राजिब कुमार गोयल अध्यापनका लागि आएका थिए । भोलुन्टियर शिक्षकको रुपमा आएका गोयलले नाम्जेमा विभिन्न सामाजिक क्षेत्रमा काम गरि रहेको थिए । उनै गोयलको पहल र मगर समुदायसँगको सहकार्यमा ९ लाख लागतमा बनाईएको आत्मा बस्ने घर पछिल्लो समय पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

भनिन्छ मान्छेको भौतिक शरिर मरेर गएपनि आत्मा अमर रहन्छ । मृत आत्मालाई घर नै बनाएर सम्झने कुरा नौलो भएकाले पनि आत्मा बस्ने घर पर्यटकको ध्यानमा परेको स्थानियको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्