फुङलिङ नगरपालिकाद्वारा मेची राजमार्गको क्षेत्राधिकार भित्रका संरचनाहरू हटाउन ७ दिने सूचना जारी

नारद गुरागाँई 
ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाले मेची राजमार्गको क्षेत्राधिकार भित्रका संरचनाहरू हटाउन ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले मेची राजमार्ग अन्तरगतको फुङलिङ वजार क्षेत्र भित्र सडकको क्षेत्राधिकारभित्र बनाइएको संरचनाहरू हटाउन हिजो बुधबारबाट लागू हुनेगरि ७ दिने सूचना प्रकाशन गरेको हो । 

झापाको चारआली देखि ताप्लेजुङको सुकेटारसम्म मेची राजमार्गको क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू हटाउन सडक डिभिजन कार्यालय इलामले २०७९ पुस २४ गते ३५ दिने सूचना गर्दै सबै स्थानीय तहलाई सोही अनुसार गर्न गराउन पत्राचार समेत गरेको थियो । 

त्यस पश्चात नगरपालिकाले २०७९ माघ २४ गते १५ दिने सूचना प्रकाशित गरि स्थानीयहरुलाई सडकको क्षेत्राधिकार भित्रका संरचना हटाई सहयोग गरिदिन आग्रह गरेको थियो । 

तर, उक्त सूचनालाई कार्यान्वयन हुनुको सट्टा यही विषयलाई लिएर फुङलिङ बजारका व्यवसायीहरूको एक समुहले सर्वोच्च अदालतमा मेची राजमार्ग आफ्नो जग्गामा नपर्ने र हालसम्म लगत कट्टा समेत नभएको भन्दै सडक डिभिजन कार्यालय, नगरपालिका सहित ७ संस्थालाई विपक्षी बनाइ मुद्दा दर्ता गराएको थियो । 

सर्वोच्च अदालतले उक्त निवेदनमा निवेदकले माग गरे अनुसार अन्तरिम आदेश दिनु नपर्ने तर विपक्षीहरूले भने १५ दिन भित्र लिखित जवाफ पेश गर्नु पर्ने आदेश दिएको थियो । मुद्दाको विषयमा स्पष्ट फैसला भइनसके पनि नगरपालिकाले आफ्नो प्रकृया अनुसार आज पुन सूचना जारी गरेको छ ।  

निमित्त प्रमुख प्रशासकीय अधिकृत भुपाल कुमार सेन्दाङद्धारा हस्ताक्षरित सूचनामा ३५ दिने र १५ दिने सूचना मार्फत पटक पटक जानकारी गराइसकेको हुँदा सडक क्षेत्राधिकार भित्रका संरचनाको कारण सडक साघुरो भइ दुर्घटना निम्त्याइरहेको हुँदा ७ दिन भित्र सडक क्षेत्राधिकार भित्रका संरचना व्यवस्थित गर्न आग्रह गरिएको छ । 

अन्यथा यो सूचनाको समेत बेवास्ता गरेमा सडक एन अन्तर्गत कार्य सुरु गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्