पाथीभरा याङवरकद्धारा किसान तथा उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान 

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले व्यावसायिक किसान तथा उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो छैटौँ स्थापना दिवसको अवसरमा पालिका अन्तर्गत विभिन्न वडाका ४  जना व्यावसायिक किसान र कर्मचारीलाई सम्मान गरेको हो । 

सम्मानित हुनेमा वडा नं. १ नाङखोल्याङका कृषक सन्तोष खिम्दिङ र सन्तोष तामाङ, वडा नं. ३ तिरिङ्गेका श्रीप्रसाद ईजम र वडा नं. ६ थुम्बेदिनका गणेश घिमिरे रहेका छन् । चारै जना कृषकलाई सम्मान पत्र सहित नगद ५० हजारका दरले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । 

त्यस्तै कर्मचारीद्वय सम्भु प्रसाद श्रेष्ठ र नारायण पौडेललाई क्रमश ५० हजार र ३० हजार नगद सहित सम्मान पत्रमार्फत सम्मान गरिएको हो । गाउँपालिकाका अधिकांश किसानलाई कृषितर्फ केन्द्रित गराउने उद्देश्यले व्यावसायिक खेती गर्दै आईरहेका कृषकलाई सम्मान गरिएको पालिका अध्यक्ष केशर कुमार मेन्याङवोले बताए ।

पालिका भित्रै वस्तु उत्पादन पर्याप्त मात्रामा गर्न सकियो भने अन्य क्षेत्रमा निर्यात गरेर पनि थप आम्दानी वृद्धि गर्न सकिने तर्फ उनको जोड थियो । त्यस्तै कृषिलाई व्यावसायिक रुपमा हरेक नागरिकले उत्पादनमा जोड दिए पालिकाको समृद्धि त्यसैमा रहेको गाउँपालिकाकी उपाध्यक्ष रनमाया गुरुङको भनाई थियो । 

उत्पादनलाई वृद्धि गरि निर्यातलाई निरन्तरता दिइयो भने प्रत्येक नागरिकको जीवनस्तर परिवर्तन हुने गुरुङले बताए ।


प्रतिक्रिया दिनुहोस्