फुङलिङ नगरपालिकाकाद्वारा ‘पोर्टेबल फायर पम्प’ को परीक्षण सम्पन्न प्रकाशित मिति : 10 March, 2023 8:03 pm ताप्लेजुङ । ताप्लेजुङमा आगलागी नियन्त्रणका लागि उपयोगी हुने ‘पोर्टेलव फायर पम्प’ को परिक्षण गरिएको छ । आज सदरमुकाम फुङलिङको विरेन्द्रचोकमा रहेको पोखरीबाट पम्पको मद्दतले पानी तानेर टोल/टोलमा पुर्याएर फोहरा हानी परिक्षण गरिएको छ । पोखरीबाट कुन–कुन क्षेत्रसम्म पुर्याउन सकिन्छ र त्यहाँबाट कहॉसम्म हान्न सक्छ भनेर परिक्षण गरिएको थियो । एक किलोमिटर सम्म पाइप टॉगेर हान्न सकिने भएकाले यो निकै उपयोगी हुने बताइएको छ । नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा लगायतका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी परीक्षणमा सहभागी थिए । राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा मेसिन र पाइप ल्याइएको नगरपालिका प्रमुख अमिर मादेनले जानकारी दिए । करिव १० लाखको लागतमा भित्र्याइएको सामग्रीबाट विरेन्द्र चोकदेखि टुक्रे, माथील्लो रोड, कोप्चे लगायतको क्षेत्रसम्म लगेर परिक्षण गरिएको थियो । पाइप, हेलमेट लगायतका सामग्री छन । ताप्लेजुङ सदरमुकाम फुङलिङमा अधिक आगलागी हुने गरेको छ । आगलागी नियन्त्रणका लागि नगरपालिकामा एउटा दमकल रहेको छ ।