चितवनमा व्यवसायिक कफी खेती सुरू प्रकाशित मिति : 16 April, 2018 10:32 am चितवन / पछिल्लो समय चितवनमा व्यवसायिक कफी खेती सुरू भएको छ । कृषि क्षेत्रका लागि पकेट जिल्लाको रुपमा मानिने चितवनमा केही समय यता व्यवसायिक रूपमै कफी खेती सुरु भएको हो । पहाड र तराई दुवै भुभाग मिसिएको चितवनमा कफी खेती सुरु भएको छ । जिल्लाको पहाडी भु—भागहरुमा कफी खेतीको सुरु गरिएको हो । जिल्लाको पहाडी भू–भागमा कफी खेतीको राम्रोे सम्भावना देखिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ । जिल्लाका पहाडी क्षेत्रहरु भरतपुर महानगरपालिकाको वडा नं.२९ स्थित कविलास, इच्छाकामना गाउँपालिकाको वडा नं.१ र २ तल्लो काउलेमा पनि कफी खेती सुरू भएको छ । फाइल तस्विर । कफी खेतीको संभावना राम्रो देखिएकाले चितवनमा केही वर्ष यता कफी खेती सुरु भएको जिल्ला कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत धनबहादुर थापाले बताउनु भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिकाकै वडा नं. ३, ४ र ५ मा पनि सुन्तला खेती फस्टाएको छ । तर, सुन्तला खेतीसँगसँगै कफी खेती पनि सुरु गरिएको छ । कफीको लागि कालो दोमट माटो उपयुक्त मानिन्छ । समुन्द्री सतहबाट करिब ८ सयदेखि एक हजार ५ सय मिटरको उचाइमा कफी खेती गर्न सकिन्छ । कफी एक पटक लगाएपछि तीन वर्षदेखि २५ वर्षसम्म निरन्तर फल दिन्छ । रोगकीराको प्रकोप कम लाग्ने र उत्पादन पनि राम्रो दिने भएकोले चितवनको पहाडी क्षेत्रमा यसको उत्पादन राम्रो हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय जनाएको छ । नेपालको कफी शुद्ध अर्गानिक भएकोले अन्तराष्ट्रिय बजारमा पनि नेपाली कफीको माग बढी हुने गरेको छ ।