नव जन निर्वाचितहरुको गन्तव्यको छनौट

बिरेन्द्र श्रेष्ठ

ताप्लेजुङ । राणा शासनको अन्त्य गरि मुलुकमा प्रजातन्त्र बहालिको खातिर प्रजा परिषद्को गठन हुनु भन्दा निकै अगाडी देखि ईतिहासमा देखिने क्रान्ती सुरु भएका छन् । सदियौ देखि नदेखिएर नप्रष्टिएका अनेकन घटना र बीरङ्गानाहरुका कथा ब्यथा देखिएका भन्दा कहालिलाग्दा पनि हुनसक्छन, कुनै ताका प्रतिवाद पुर्ण बर्जिद थियो जबकी अहिले पनि केही घटना यसरी दबाईन्छ कि दोषीलाई पिडित र पिडितलाई पिडकको रुपमा चित्रण गरेर, अझ शुद्धी प्रदान गर्न कानुनी आवरणले धोएर पखालिन्छ अनि समाजमा प्रस्तुत गरिन्छ ।

नेपाली राजनीतिका महान नेताहरु विश्वेस्वर प्रसाद कोइराला, गणेशमान सिंह, हिमालय सम्शेर, कृष्ण प्रसाद भट्टराई, पुश्पलाल, मदन भण्डारी, पुष्पकमल दाहाल लगायतका नेताहरुले आफ्नो समयमा प्रजातन्त्र बहालिको लागि अतुलनिय योगदान दिएर स्वर्णिम ईतिहास रचिसकेका छन् । यहि प्रजातन्त्र, लोकतन्त्र र जनताकै सन्तान राष्ट्र प्रमुख हुने महान कार्यको लागि गाउँ, बस्ती, नगर, शहर हुँदै मुलुकैभरिका विभिन्न तह–तप्काका आ–आफ्नो स्थानका नेता कार्यकर्ताहरुको विभिन्न कालखण्डका योगदान र हजारौ सपुतको बलिदानीको खातिर आर्जित संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएर नेपालको संविधान २०७२ घोषणा भएको ७ बर्ष बितिसकेको छ । विभिन्न कालखण्डमा भएका क्रान्तिका उद्देश्य भनेको शासकिय स्वरुपमा परिवर्तन मात्र नभई मुलत मुलुकको विकास र जनताको जीवनस्तरमा सुधार गर्दै एक समृद्ध मुलुकको सपना हो ।

०४६÷४७ को क्रान्ति पश्चात जनताको हातमा कार्यकारी प्रमुखको हैसियत प्राप्त भएको ३२ बर्ष बितिसकेको छ । नेपालको समुन्नत विकास र जनताको समृद्धी खातिर विभिन्न दलले आफ्नो घोषणा पत्रमा जनता सामु गरेका प्रतिबद्धताहरु कागजमै सिमित भएका छन् । हरेक दलका प्रायजसो उम्मेद्वारले जनतालाई आफुले गरेको प्रतिबद्धता किन पूरा हुन सकेन र आगामि दिनमा कसरी ती बाचाहरु पूरा गर्दैछु सम्मको वास्तविकतामा प्रवेश नगरी फेरि नयाँ नयाँ प्रतिबद्धता आएको नेपाली बजारमा देखिएको छ । सोझा साझा जनतालाई लम्पट कार्यकर्ता मार्फत आर्थिक प्रलोभनमा पारेर आफ्नो जीत सुनिश्चित गराउन निकै मै हुँ भन्ने नेताहरुको हविगत यो चुनावले छर्लङ्ग बनाएको छ ।

स्थानिय निर्वाचनमा मुलुकको राजधानी काठमाडौ र धरान जस्ता शहरको प्रमुखमा स्वतन्त्र उम्मेद्वारहरुको उदय सगै मुलुकको अवस्थाले असहज बनाईरहेका धेरै ब्यक्तिहरुले स्वतन्त्र रुपले प्रदेश सभा र प्रतिनिधि सभामा उम्मेद्वारी पेश गरेको पाईएको छ । आज भन्दा एक बर्ष अगाडी सम्म नेपालको टेलेभिजनका लोकप्रिय प्रस्तोता मात्र रहेका रबि लामिछानेले २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टि नेपाल दर्ता गरि चुनाबी अभियानमा लागे सँगै ४ महिनाकै तैयारिमा मुलुकको निकै ठुलो जनमत आफ्नो प्रभावमा पार्न सफल भएको चुनावी नतिजाले प्रष्ट्याईरहेको छ ।

नेपालको संविधान २०७२ ले व्यवस्था गरे अनुसार प्रदेशसभा र प्रतिनिधि सभामा सरकार बनाउने बिधीनै ठूलो समुहको दलले साना दललाई वा प्रतिनिधि÷ब्यक्तिलाई समेटेर मात्र सरकार गठन गर्न सक्ने प्रावधान भए बमोजिम स्वतन्त्र उम्मेद्वारहरुले सरकार गठन गर्न असहज हुने प्रष्ट छ । दलका ब्यक्ती मात्रले अर्को दल वा ब्यक्तिलाई सपोर्ट गर्दा त्यो सपोर्ट गर्ने ब्यक्तिको सदस्यता खारेज हुने प्रष्ट प्रावधान रहेकोले दलको अधिनमा संसद सदस्य रहने भएकोले संसदिय दलको नेताको चुनाव अत्यन्तै संबेदनशिल रहिआएको छ ।

प्राय सबै ठुला दलका अध्यक्ष वा सभापतिनै संसदिय दलको नेता हुने र अवसर प्राप्त हुनासाथ प्रधानमन्त्री हुने नेपाली प्रचलन रहिआए बमोजिम नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा पाचौं पटक प्रधानमन्त्री भै सकेका छन् भने, एमालेका अध्यक्ष केपि शर्मा ओली दुई पटक, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल दुई पटक प्रधानमन्त्री बनिसकेका छन् । हाल यी तिनै दलका प्रमुखहरु २०७९ को निर्वाचन मार्फत प्रतिनिधि सभा सदस्यमा बहुमतको साथ निर्वाचित भै सकेका छन् ।
यी तिनै दलको एकांकि स्पष्ट बहुमत आएको अवस्था नरहे पनि बाम लोकतान्त्रिक गठबन्धनका दलहरुको ऐक्यबद्धता रहिरहेको अवस्थामा बहुमत हुने अवस्था प्रष्ट छ ।

के नेपालमा ५ वर्ष सरकार चलाउन मात्र निर्वाचन गरिएको हो ?

प्रजातन्त्र बहाली पश्चात करिब ३२ बर्ष बितिसक्दा पनि मुलुकको बृहत्तर बिकास र समृद्धी हुन सकेको छैन् । यसको प्रमुख कारण के हो ?
१. क्षमता, योग्यता, निष्ठा र नतिजा दिन सक्ने ब्यक्ती सरकार प्रमुखको कुर्सीमा नपुग्नु,
२. आफ्नो अक्षमतालाई ढाकछोप गर्न छिमेकी मुलुकहरूको हस्तक्षेपको आरोप लगाउनु र सँधै साशकिय स्वरुपको बिषयमा जनतालाई भुलभुलैयामा राखिनु,
३. जनताको बहुमत पाएका माननीयहरु भेडो बाख्रो जस्तो किनबेच हुनु,
४. स्पष्ट बहुमतको सरकार नबन्नु र बनिएको अवस्थामा समेत संसद भंग गरि मध्यावधिमा जानू वा जाने कोसिस गरिनु,
५. सरकार प्रमुखको कुर्सिमा पुगेका ब्यक्ती सँग मुलुकको आवश्यकता, चुनौती र यस्को समाधान सम्बन्धि स्पष्ट रोडमेप नहुनु,
६. मुलुकको आवश्यकता पहिचान गरि समस्या समाधानको लागि आफ्नो क्षमता अभिबृद्धी गर्नुको साटो राजनीतिक जोडघटाउमा आफ्नो जीवन सडाएर सधै मन्त्री र प्रधानमन्त्रीको मात्र सपना देखिरहनु,
७. मुलुकको हरेक संयन्त्रको जरा सरकार र यसको जरा राजनीतिक दल भएकोले, अधिकांश राजनितीज्ञहरुको भित्री स्वरुप सुशासन नभै द्वेध चरित्र मार्फत अकुत सम्पत्ति आर्जन गर्ने बिकृत थलो सरकारको कुर्सी हुनु,
८. अदालत, सरकारी सस्था, प्रहरी, प्रशासन आदि स्वच्छ प्रतिस्पर्धा बाट नियुक्ति, सरुवा, बढुवा हुनको साटो पहुच, दलिय भागबन्डा र पैसाको आधारमा बाँडफाँड भै चरम विकृत बनाईनु,
९. मागेर धनी हुन कहिले सकिन्न भन्ने ध्रुव सत्य कथन लाई भुलेर स्वर्गको टुक्रा जस्तो मुलुकलाई परनिर्भर जुका बनाईनु,
१०. राजनीतिलाई विशुद्ध समाजसेवा मात्र बनाउनु पर्ने अवस्थामा यसमा लाग्नासाथ दिन दुगुना रात चौगुणा आर्थिक लाभ हुने अवस्था प्रायको बुझाई भै सकेकोले राजनीति लाई अधिकांसले पुर्णकालिन ब्यवसायको रूपमा लिईनु आदि..।

यसको समाधान के हुन सक्छ ?

दल भनेको एउटा कार मानाँै, ब्यबस्था भनेको त्यस्को ईन्धन, गन्तव्यमा पुग्न राम्रो कार, शुद्ध ईन्धनको आवश्यकता पर्दछ तर चालक गतिलो परेन भने सुरक्षित र समयसिमामा कदापि गन्तव्यमा पुग्न कठिन हुन्छ । यहाँ चालक यानेकी संसद होस या कुनै राजनीतिक पदमा आसिन ब्यक्ती धेरै जसो त्यो पदको काबिल छैनन्, त्यसैले उम्मेद्वार चयन प्रक्रिया नै परिवर्तन गर्नुपर्ने देखिन्छ । योग्य, क्षमतावान् र नतिजा दिनसक्ने ब्यक्तिलाई जनताको छनौटमा राखिदिनु पर्छ । दशकौ देखि त्यही भिटामिन, पौष्टिक नभएको खाद्यताको अवधी समाप्त भएको अन्न खाएर कुपोषणमा पार्न बाध्य बनाईदैछ नेपाल र नेपालीलाई । तर थप पाँच बर्षलाई स्थानिय ÷ संसदिय निर्वाचनको सबै कर्तव्यहरु पूरा भएका छन ।

२०७९ को संसदिय निर्वाचनमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाको अधिक सिट र लोकप्रिय मतका आधारमा पहिलो पाच पार्टी बन्न सफल भएका छन् । एउटा पार्टिको स्पष्ट बहुमत नहुदा साधारणतय प्रथम पार्टिले अन्य पार्टिको सहायतामा मन्त्रीमण्डल निर्माण गरि सरकार चलाउने प्रचलन रहेता पनि लोभलालचले अनेकन तालमेल बाट सरकार गठन हुने, धेरै पार्टीहरुलाई समेटेर बनाईएको सरकारको जम्बो मन्त्रीमण्डल हुने समेत प्रसस्त उदाहरण पटक पटक नेपाली बजारमा देखिएका छन । यो सव परिदृश्यबाट निकै माथि उठेर, २०७९ मंसिर ४ गतेको निर्वाचनमा जनताले कोहि एक पार्टिलाई स्पष्ट बहुमत नदिए पनि धेरै विबेकपुर्ण निर्णय गरेको देखिन्छ । अब मुलुकलाई कुन दिशा तर्फ लैजाने भन्ने बिषयमा नव निर्वाचित संघिय प्रतिनिधि सभा सदस्यको काँधमा आईसकेको छ । जनताले के चाहेका छन? मुलुकको आवश्यकता के छ? कस्तो मानिस मन्त्रीमण्डलमा लैजानु पर्छ र कस्तो ब्यक्ती प्रधानमन्त्री बन्नु पर्छ? आजको टड्कारो बिषय हुन ।

साधारणतय राजनीतिमा आज काम गर्न नसक्नेले भोलिपनि काम गर्न नसक्ने भएको हँुदा र ०४८ साल यता कोहि पनि प्रधानमन्त्रीले जनचाहना बमोजिमको काम गर्न नसकेको र जहिले राजनीतिक जोडघटाउ मै अल्झिएको हुदाँ हालसम्म प्रधानमन्त्री भैसकेका ब्यक्तिलाई दोहो¥याएर फेरि प्रधानमन्त्री बनाईनु हुदैन । जनताको चाहना “युवा नेतृत्व“ भएको हँुदा ठुला दलका क्षमतावान् ब्यक्ति जसले साँचो अर्थमा नतिजा दिन सक्ने ब्यक्तिलाई संसदिय दलको नेता चयन गरेर सरकार गठनको लागि बाटो खुला गरिदिनु पर्दछ ।

अहिलेको परिदृश्यमा एमालेका र माओवादी केन्द्रका अध्यक्षलाई उक्त दलले प्रधानमन्त्री स्विकार गरेर निर्वाचनमा होमिएका थिए भने नेपाली काङ्ग्रेसबाट पार्टी सभापतिको स्पष्ट अभिव्यक्ति नआईसकेको तर महामन्त्री गगन कुमार थापाले आफुलाई प्रधानमन्त्रीको दावेदारको रुपमा निर्वाचन अघि देखिनै उभ्याएका छन् । चौधौं अधिबेशन बाट अत्यन्तै लोकप्रिय मतका साथ महामन्त्रीमा निर्वाचित भएका विश्व प्रकाश शर्मा र अन्य लोकप्रिय युवा नेताहरुको समेत समर्थन गगन कुमार थापा लाई रहेको छ ।

स्पष्ट र अडानयुक्त बोलि, समयानुकूल आफुलाई परिमार्जन गर्ने क्षमता, उच्च ब्यबस्थापकिय क्षमताको कारण नौ महिना स्वास्थ मन्त्रालय सम्हाल्दा सार्वाधिक लोकप्रिय मन्त्री बन्न सफल, प्रोजेक्ट गभर्मेन्ट्को तैयारी आदि गगन कुमार थापा प्रधानमन्त्रीको लागि एक योग्य दावेदार ठहरिएका छन । नेपाली काङ्ग्रेस भित्र सभापति शेर बहादुर देउवाको पुनः प्रधानमन्त्री बन्ने ईच्छा मौन रहे पनि काङ्ग्रेस नेता रामचन्द्र पौडेलले भने प्रधानमन्त्री बन्ने आफ्नो ईच्छा रहेको प्रष्ट्याईसकेका छन ।

यसरी मुलुकको भाग्य र भविष्य माथी एउटा अक्षम ब्यक्ती पटकपटक सरकार प्रमुखको कुर्सीमा आसिन भै रहनु, क्षमता र योजनाबिहिन ब्यक्ती पदको लुलुप्तताले सदैव अंकगणितको प्रयोगले उपयुक्त ब्यक्तिलाई त्यो कुर्सीमा पुग्ने वातावरण नै छिनेर नेपाल र नेपालीको भाग्य र भविष्य माथी खेल्ने हो भने समस्त नेपाली जनताले तत्काल खवरदारी गर्ने समय आईसकेको छ । अहिले दलका नेताहरुले यो त्यो नगरी क्षमता र नतिजा दिन सक्ने ब्यक्तीको चयनका प्रक्रिया पूरा गरेर मात्र प्रधानमन्त्री बन्ने आधारशिला तय भए सक्षम ब्यक्तीले अवसर पाउने र मुलुक र जनताको बिगत ३२ बर्ष देखिको विकास र समृद्धिका सपनाहरू पूरा हुने बाटा हरु खोलिनेमा दुई मत छैन् ।


प्रतिक्रिया दिनुहोस्