प्रधानमन्त्री देउवा र प्रचण्डबीच अर्थपूर्ण भेट, नयाँ सरकार गठनको तयारीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेट भएको छ । चुनावको नतिजा आउनेक्रम जारी रहेका बेला सत्ता गठबन्धनका मुख्य दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

दुई नेताबीच चुनावको नतिजा र आगामी सरकारबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । अन्तिम नतिजा नआए पनि हालसम्मको परिणामले सत्ता गठबन्धनको बहुमत आउने देखिएकाले यी दुई नेताबीच भएको शनिबारको छलफललाई नयाँ सरकार गठनको तयारीका रुपमा बुझिएको छ ।

प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा रहे पनि समानुपातिकतर्फको गणना भने बाँकी छ । चुनावको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने छ ।


प्रतिक्रिया दिनुहोस्