फेरी आलोचनामा तानिए रोनाल्डो

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो व्यवहारका कारण फेरि आलोचनामा तानिएका छन् । गत राति घरेलु लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा टोटनह्यामसँगको खेल दौरान रोनाल्डोले खेल नसकिँदै रङ्गशाला छाडेपछि अहिले उनले आलोचना खेपिरहेका छन् । 

प्रशिक्षक इरिक टेन ह्यागले गत रातिको खेलमा रोनाल्डोलाई सुरुआती टोलीमा राखेका थिएनन् । फ्रन्ट लाइनमा एन्टोनी, जाडोन सान्चो र मार्कुस रासफोर्ड थिए । रोनाल्डो दोस्रो हाफको अन्तिम समयमा मैदान प्रवेश गर्ने तयारीमा थिए ।

तर, डच कोच टेन ह्यागले रोनाल्डोलाई बेन्चबाट पनि मैदान छिराएनन् । महत्त्वपूर्ण खेलमा बेन्चमा बस्नु अनि बेन्चबाट पनि खेल्न नपाउँदा ३७ वर्षका पोर्चुगिज फरवार्ड रिसले क्रुद्ध बनेर खेलको ९०औं मिनेटमा बेन्च छाडेर टनेलतर्फ लागे । 

रोनाल्डोले मैदान छाड्दा युनाइटेड आफ्नो घरमा २–० ले अघि थियो । युनाइटेडका लागि ४७औं मिनेटमा फ्रेड र ६९औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गरेका थिए । बेन्चबाट मैदान छिर्नका लागि रोनाल्डोले ७० मिनेटदेखि नै वार्म अप गरेका थिए ।

तर, टेन ह्यागले उनलाई नखेलाउने निर्णय गरे । खेलको ८९औं मिनेटसम पनि प्रशिक्षकले आफूलाई मैदान नपठाएपछि रोनाल्डोले ठीक ९०औं मिनेटमा बेन्च छाडेर ड्रेसिङ रुमतर्फ लागे । उनी खेल्न नपाएकोमा रिसाउँदै मैदान छाडेका थिए । मैदान पस्नका लागि प्रशिक्षकले वार्म अप गर्न लगाए । 

तर, ८९औं मिनेटसम्म पनि मैदान नछिराए पछि रोनाल्डोले रिसाउँदै खेल चलिरहेकै बेला बेन्च छाडेर हिँडेका हुन् । मैदानमा आफ्नो टिम खेलिरहेका बेला कुनै खेलाडी रिसाएर बेन्च छाडेर रङ्गशाला वा बेन्च छाड्नु अवश्य पनि राम्रो होइन । 

यो अनुशासनभन्दा बाहिरको व्यवहार हो । रोनाल्डोले युनाइटेडमा दोस्रोपटक अनुबन्ध भए पछि दुई पटक यस्तो व्यवहार देखाइसकेका छन् । युनाइटेडले घरेलु मैदानमा २–० ले जितेको उक्त खेलमा ९० मिनेटपछि ५ मिनेटको समय थप भएको थियो । 

यसको अर्थ रोनाल्डो खेल सकिनुभन्दा ५ मिनेटअघि ने मैदान छाडेर हिँडे । उनको यो व्यवहारको धेरैले आलोचना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्