गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउने निर्णय प्रकाशित मिति : 15 October, 2022 8:53 am काठमाडौं । सरकारले महँगा गाडीलगायतका विलासिताका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले महँगा गाडी, मोटरसाइकल, मोबाइल, मदिरालगायतका वस्तुको आयातमा लागेको प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको हो । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा लागेको प्रतिबन्धलाई निरन्तरता दिन सिफारिस गरेको थियो । अब जिप, भ्यान, कार, १५० सीसी माथिका मोटरसाइकल, ३०० डलरभन्दा बढीका स्मार्ट फोन र विदेशी मदिराको आयातमा मंसिर मसान्तसम्म प्रतिबन्ध लागेको छ। विदेशी मुद्राको सञ्चितीमा अझै सुधार नभएकोले मन्त्रालयले आयात प्रतिबन्धलाई निरन्तरता दिन उद्योग मन्त्रालयले सिफारिस गरेको थियो । यसअघि सरकारले गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसपछि सरकारले प्रतिबन्धलाई असार ३१ सम्म लम्ब्याएको थियो । गत भदौ १४ मा कुरकुरे, हीरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै सरकारले गाडी, मोटरसाइकल, मोबाइल र विदेशी मदिराको आयात प्रतिबन्धलाई निरन्तरता नै दिएको थियो ।