विर्ता युनाइटेडलाइ पाँचथर गोल्डकपको उपाधि, नवयुग सर्वोकृष्ट खेलाडी

पाँचथर,२ बैशाख  /  झापाको विर्ता युनाइटेडले फाइनलमा सुनसरी न्युस्टारलाई ४–१ ले पराजित गर्दै वाइ वाइ दोश्रो पाँचथर नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । विर्ताको जितमा दुई गोल गरेका नवयुग श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।

फिदिम माबिको मैदानमा भएको फाइनलमा विर्ताले नवयुगको गोलमा अग्रता लियो। उनले तेस्रो मिनेटमा बुद्ध चेम्जोङको क्रसलाई सदुपयोग गर्दै विर्तालाई अग्रता दिलाए। न्युस्टारले ३३ औं मिनेटमा निशान लिम्बुको गोलमा बराबरी गर्यो। राष्ट्रिय टोलीका समेत सदस्य रहेका हेमन्त थापा मगरको पासमा निशानले बराबरी गोल गरे। विर्ताले दोस्रो हाफमा पुष्प मादेनको गोलमा अग्रता लियो। यसअघि क्वाटरफाइनलमा ह्याट्रिक गरेका पुष्पले विशाल राईको पासलाई सदुपयोग गर्दै विर्तालाई पुनः अग्रता दिलाएका थिए।

न्युस्टारले बराबरी गर्ने प्रयास गरेपनि ५५ मिनेटमा टंक बस्नेतको प्रहार बारमा लगेर फर्कियो। ५७ मिनेटमा बुद्धको कर्नरमा पुजन उपरकोटीले गोल गर्दै विर्ताले अग्रता दोब्बर गर्यो। खेलको ५९ औं मिनेटमा न्यूस्टारका दिपक गुरुङको प्रहार पनि बारमा लागेर फर्किएपछि न्यूस्टार खेलमा फर्कन सकेन। नवयुगले ७५ मिनेटमा गोल गर्दै विर्ताको जित सुनिश्चित गरे।
दोस्रो स्थानमा चित्त बुझाएको न्यूस्टारका हेमन्त थापा मगर खेलको ‘म्यान अफ दी म्याच’ चुनिए। उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा ६ गोल गरेका नवयुग सर्वाधिक

गोलकर्ता हुँदै १० हजार प्राप्त गरे। नवयुग नै प्रतियोगिताको सर्वोकृष्ट खेलाडी चुनिए। उनले एक थान टिभिएस मोटरसाइकल प्राप्त गरे । खेलाडीहरुको तालमेल नमिल्दा पराजित हुन परेको सुनसरीका प्रशिक्षक श्याम श्रेष्ठले बताए । विर्ताका प्रशिक्षक भुपेन लिम्बुले भने उच्च प्रर्दशनको कारण उपाधि जित्न सफल भएको बताए।


प्रतिक्रिया दिनुहोस्