गठबन्धनको सिट बाँडफाँट साउन अन्तिमसम्म टुंग्याउन कार्यदल गठन प्रकाशित मिति : 5 August, 2022 3:26 pm काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले साउनभित्रै सिट बाँडफाट गर्ने गरी कार्यदल गठन गरेको छ। आज बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले मंसिर ४ मा हुने चुनावका लागि सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेको हो। स्रोतका अनुसार सिट बाँडफाँटका लागि गठन भएको कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता कृष्णप्रसाद सिटौला र सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की छन्। यस्तै कार्यदलमा नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देवप्रसाद गुरूङ छन्। नेकपा एकीकृत समाजवादीबाट नेताहरू प्रमेश हमाल र बेदुराम भुषाल कार्यदलमा छन् भने जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेमजोङ कार्यदलमा छन्। राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन्। सरकारका प्रवक्ता कार्कीले भने कार्यदल गठनबारे जानकारी दिएनन्। उनले मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति भएको मात्रै बताएका थिए।