आज र भोलि कोशी र नारायणी नदीको जलसतह सतर्कता तह आसपास रहने प्रकाशित मिति : 4 August, 2022 9:06 am काठमाडौं । आज र भोलि कोशी र नारायणी नदीको जलसतह सतर्कता तह आसपास रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी नदीमा जल सतह घट्ने भए पनि सतर्कता तह आसपासनै हुने भएकाले महाशाखाले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ । महाशाखाले विभिन्न नदीहरुको तीन दिने जल सतहको पूर्वानुमान सार्वजनिक गरेको छ । आज संखुवासभा, धनकुटा, सुनसरी, सप्तरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, दार्चुला र आसपास भइ बहने स-साना नदीहरुको बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ । यी जिल्ला भइ बहने नदीमा ‘फ्ल्यास फ्लड’ बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।