कोशी पुरानै धारमा फर्किएपछि १८ हजार बढी प्रभावित, मनसुन पछि ३५ जनाको मृत्यु

काठमाडौं । सप्तकोशी नदी तीन दशक अगाडिकै धारमा फर्किएपछि उदयपुर बेलका नगरपालिकाका २५ घरपरिवारका १८ हजार बढी नागरिक प्रभावित बनेका छन् । बुधबार बिहान ४ बजेतिर सप्तकोशी नदी बाँध भत्काएर पुरानै धारमा फर्किएको हो ।

कोशी पुरानै धारमा फर्किदा बेलका नगरपालिका वडा नम्बर १, २, ८ र ९ मा भंगालो पसेको छ । लगातारको वर्षाका कारण पानीको सतह बढ्दै जाँदा डुम्रीबोट र लाहुरे खोंचबाट कोशीको भंगालो बस्ती छिरेको हो । स्थानीयका अनुसार, २०४५ सालको भूकम्पपछि कोशी नदी नयाँ धार बनाएको थियो ।

कोशी नदी नयाँ धार बनाएर बग्न थालेपछि त्यस क्षेत्रमा बसोबास हुन थालेको हो । नदी बग्न छोडेको क्षेत्रमा २०५० सालतिरैबाट बस्ती शुरु भएको थियो । त्यही बस्तीमा बुधबार बिहानबाट कोशी बग्न थालेपछि उद्धारमा तीनै तहका सरकार परिचालित भएको छ । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालित हुन निर्देशन दिएका छन् ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार, कोशी छिरेको बस्तीबाट उद्धार गर्न सुरक्षार्मी, स्थानीय तथा विभिन्न संघसंस्था परिचालित भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बस्ती स्थानान्तर, उद्धार र राहतमा राज्यका सबै निकायलाई परिचालित हुन निर्देशन दिएका छन् । आवश्यक परे हेलिकोप्टर प्रयोग गर्ने समेत गृहमन्त्री खाँणले निर्देशन दिएका छन् ।

कोशी पुरानै धारमा फर्किएपछि तटीय क्षेत्रमा रहेकाहरुको उद्धारमा समेत आवश्यक ध्यान दिन सरकारले निर्देशन दिएको छ । १४ वर्ष अगाडि २०६५ सालमा पनि सप्तकोशीको बाँध भत्किएको थियो । त्यसबेला सुनसरीको पश्चिम कुसहास्थित बाँध भत्किदा मधुवन, लौकही, पश्चिम कुसहा, हरिपुर, श्रीपुर र भारततर्फ ठूलो क्षति भएको थियो ।

लगातारको वर्षाबाट नेपालका अन्य क्षेत्र समेत प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, पूर्वी नेपालमा अब बिस्तारै वर्षा कम हुने सम्भावना छ । त्यसले कोशीको बहाब घट्ने आशा गरिएको छ । उदयपुरका प्रजिअ यादव, वर्षा कम भएमा मानवीय तथा पशुजन्य क्षति हुन नदिन सावधानी अपनाउन सहज हुनेछ ।

मनसुन पछि ३५ जनाको मृत्यु
गृह प्रशासनका अनुसार, यस वर्ष मनसुन सक्रिय भएपछि प्रकोपमा परी ३५ जनाको मृत्यु भइसकेको छ । यो वर्ष गएको ९ जेठबाट मनसुन सक्रिय भएको थियो ।

त्यसयता ३९ जना घाइते भएका छन् । ४७ जिल्लामा बाढी, पहिरो र डुवानको समस्या देखिएको छ । प्रकोपमा परी ८२ घर पूर्ण तथा ६४ घरमा आंशिक क्षति पुगेको छ । सोमबार यता मात्रै प्रकोपमा परी सात जनाको मृत्यु भएको छ ।

लगातार अविरल वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागले पूर्वी नेपालमा वर्षा बिस्तारै कम हुने सम्भावना छ । आजसम्म वर्षा भएर जाने अनुमान गरिएको छ । तर बिस्तारै पश्चिमतर्फ वर्षा सर्ने विभागको अनुमान छ ।


प्रतिक्रिया दिनुहोस्