चार जनामा कोरोना पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा प्रकाशित मिति : 28 July, 2022 10:24 am एजेन्सी । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान सहरमा ३ दिन लकडाउनको घोषणा गरिएको छ । वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै लकडाउन घोषणा गर्दै सर्वसाधारणलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । पछिल्लो समय चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ । यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ। यसबाट चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा उल्लेखनीय रूपमा कमी भएको छ । १२ लाख जनसंख्या रहेको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण भइरहेको छ । दुई दिनअघि दुई जनामा संक्रमण पुष्टि भएको वुहानमा त्यसपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जाँदा थप दुई जनामा संक्रमण देखिएको हो । त्यसको केही समयपछि शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरियो । सार्वजनिक यातायात बन्द भए, शहरलाई उच्च जोखिमको वर्गीकरणमा राख्दै स्थानीय सबैलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ ।