पहिचानको आधारमा नामाकरण नगरिए निर्णायक आन्दोलन गर्ने चेतावनी

काठमाडौं, २७ असार । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामाकरण पहिचानको आधारमा नभए सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेश १ प्रदेश सभाले यसै अधिवेशनबाट प्रदेशको नामाकरण गर्ने तयारी थालेसँगै नामाकरणको विषयले प्रदेश १ को राजनीति तातिएको बेला महासंघले यस्तो चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले विज्ञप्ति जारी गर्दै आदिवासी जनजातिको पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भइरहेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ– ‘आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी आदिवासीय पहिचानविपरीत प्रदेश नं. १ को नामाकरण गर्ने दुश्प्रयास भएमा त्यसविरुद्ध नेपाल आदिवासी जनजाती महासंघले सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिन्छौं ।’
ऐतिहासिक थाकथलो, भाषा, संस्कृति र सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नामाकरण हुनुपर्नेमा त्यसविपरीत विभिन्न षडयन्त्र भइरहेको भन्दै महासंघले विज्ञप्तिमार्फत भत्र्सना गरेको छ । प्रदेशको नामाकरण पहिचानको आधारमा नगरिए आन्दोलन गर्ने चेतावनी दिएको महासंघले पहिचानका आधारमा नामाकरणका लागि सरोकारवाला सबै पक्षसँग अपिलसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्