काठमाडौं महानगरपालिकाको सडकमा खानेकुरा बेच्न निषेध प्रकाशित मिति : 29 June, 2022 8:31 am काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लागएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ । होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उनले बताए । नागरिकको सहजताका लागि कामपाले २४ सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।