स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई प्रकाशित मिति : 14 April, 2018 1:08 pm विराटनगर / प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान आज देखि यहाँ सञ्चालन गरेको छ । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत आजदेखि सो अभियान शुरु गरेको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज बिहान यहाँ आयोजित कार्यक्रममा ‘स्वास्थ्यप्रति जिम्मेवार : समृद्धिको आधारमा मेरो वर्ष २०७५’ र ‘स्वास्थ्य प्रवद्र्धनको वर्ष २०७५’ “जनमानसमा स्वास्थ्यको पहुँच हाम्रो अभियान आठ प्रतिबद्धता, स्वास्थ्य जीवनको आवश्यकता” भन्ने अभियानको अनावरण गर्नुभयो । उक्त आठ बुँदे प्रतिबद्धतामा “ म तनावरहित जीवन व्यतीत गर्छु” ‘म ट्राफिक नियमको पालना गर्छु’ ‘म आफ्नो घर र समुदाय सफा राख्छु’ ‘म रक्सी, चुरोट र सूर्तीजन्य पदार्थबाट टाढा बस्छु,’ ‘म नियमित व्यायाम गर्छु’ ‘म स्वस्थ र पोषिलो खाना खान्छु’ ‘म नियमित स्वास्थ्य जाँच गराउँछु’ ‘म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ रहेको छ । उक्त प्रतिबद्धतामा मुख्य मुख्यमन्त्री राईले हस्ताक्षर गर्नुहुर्दै स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुने बताउँदै व्यायामले गाउँ समाजलाई सकारात्मक सोचको विकासमा प्रेरणा दिने बताउनुभयो । उहाँले आफू खेलकूदमा रुची भएको र नियमित व्यायाम गर्ने गरेको बताउँदै प्रदेश सरकारले अगाडि ल्याएको आठ बुँद्धे प्रतिबद्धतालाई व्यवहारमा उतार्न सबैसँग आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले यो वर्ष विकास र समृद्धिको जग हाल्ने वर्ष भएको बताउँदै सिंगो मुलुकलाई रोगमुक्त बनाउने अभियान सफल बनाउने अभियानमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशलाई योगमय बनाउन प्रदेश सरकारको कार्यसुचीमा राखेको बताउनुभयो । आठ बुँदे प्रतिबद्धतालाई योग शिविरमा प्रदेश सदस्य, सरकारका कर्मचारी, उद्योगी व्यापारी, नागरिक समाज र सञ्चारकर्मीले हस्ताक्षर गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अभियानअन्तर्गत आज कोशी अञ्चल अस्पताल चोकमा वातावरणीय सरसफाइ सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । रासस