मेरिङदेन गाउँ कार्यपालिकामा एमालेलाई बहुमत प्रकाशित मिति : 27 May, 2022 7:46 am ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँ कार्यपालिकामा एमालेले बहुमत जुटाएको छ । बिहीबार कार्यपालिका सदस्य चयनका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई पराजित गरी ६ जना कार्यपालिका सदस्य नै एमालेबाट निर्वाचित भएका हुन् । तर, पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद भने एमालेले गुमाएको छ । ६ वडा रहेको मेरिङ्देन गाउँपालिकाको १४ सदस्यीय कार्यपालिकामा ४ जना वडाध्यक्षसहित एमालेका १०, पालिका अध्यक्ष र २ वडाध्यक्षसहित कांग्रेसका ३ र पालिका उपाध्यक्षसहित नेकपा एसले कार्यपालिकामा १ सदस्यीयको प्रतिनिधित्व गर्ने छ । निर्वाचित महिला सदस्यबाट कार्यपालिकामा जाने ४ पदमा याङ्डे शेर्पा, अमृता मगर शेर्पा, कमला तामाङ र बिमला कामी निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यकबाट जाने २ पदमा पासाङ छिरिङ शेर्पा र ङिमाखाण्डु शेर्पा निर्वाचित भएका छन् । यसअघि फुङलिङ नगर कार्यपालिकाको ८ पदका लागि भएको निर्वाचनमा ८ पदमै गठबन्धन पक्ष विजयी भएको थियो ।