पालिकाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने साथै वृद्ध भत्ता घरमै पुर्‍याईने छः अध्यक्ष लिम्बू


ताप्लेजुङ । ताप्लेजुङकोे फत्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले हाल गाउँपालिकाको गाडीलाई तत्काल एम्बुलेन्सका रुपमा प्रयोग ल्याउने बताएका छन् । आफुले गाउँमा घुम्दा बिरामी भएर स्थानीयले अकाल मै ज्यान गुमाएको देखेकोले उत्त अवस्थाको अन्त्य गर्न पालिकाको गाडी स्थानीयको हितका लागि प्रयोग गर्ने उनले बताए ।

अध्यक्ष लिम्बूले भने,“ मैले यस अघि चुनावी प्रचार प्रसारका दौरानमा आफू विजयी भए पालिकाको गाडिलाई तत्काल एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेको थिए । सोही अनुसार आजैबाट गाडी स्थानीयको हितका निम्ती प्रयोग गर्ने छु । ताकी यहाँका जनताले उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् । बिरामी भए र गाडीको आवश्यकता भए गाउँपालिकामा सम्पर्क गर्न उनले स्थानीयलाई आग्रह गरेका छन् ।”

तत्काल पालिकाको गाडी स्थानीयको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्सको रुपमा प्रयोग गरिएपनि उत्त गाडी एम्बुलेन्स खरिद पछि अन्य प्रयोजनका लागि प्रयोग गरिने उनले बताए । यस अघि नै लिम्बूले अध्यक्षमा निर्वाचित भए गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने साथै आफुले पाउने सेवा सुविधा पनि स्थानीय कै हितमा प्रयोग गर्ने घोषणापत्रमा नै उल्लेख गरेका थिए । सोहि कुरालाई उनले अध्यको पदभार ग्रहण गरे लगत्तै कार्यान्वयन गर्न सुरु गरेका हुन् ।

साथै उनले गाउँबासीलाई वृद्ध भत्ता घर घर पुर्‍याईने बताएका छन् । आईतबार गाउँपालिका अध्यक्षको पदभार ग्रहण गर्दै लिम्बूले सो कुरा बताएका हुन् । भौगोलिक रुपमा विकट रहेको र वृद्ध वृद्धालाई भत्ता बापतको रकम लिन गाउँपालिका केन्द्र तापेथोकसम्म आउन समस्या भोग्नु पर्ने भएकाले पालिकाले नै वैंक सँग समन्वय गरि भत्ता घर घरमा पुर्‍याउने व्यवस्था मिलाईने अध्यक्ष लिम्बूको भनाई छ ।

पालिका अध्यक्षले वडा तहका जनप्रतिनीधिलाई सपथ ग्रहण गराउने प्रावधान अनुसार अध्यक्ष लिम्बूले आईतबार पालिकाका सबै वडाका अध्यक्षसहित अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका छन् । सपथ ग्रहण गाराउँदै उनले जनताले निर्वाचन गराएर पठाएकोले जनताको शासक नभई सेवक भएर काम गर्न आग्रह गरे ।

लिम्बू वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा गठबन्धन (माओवादी केन्द्र) को तर्फबाट गाउँपालिका अध्यक्षमा एमालेका सरोज लिम्बूलाई ३४८ मतले पछि पार्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले २,६६० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सरोज लिम्बूले २,३१२ मत प्राप्त गरेका थिए । गाउँको विकासका निम्ति सिंगापुर प्रहरीको जागिर छोडेर राजनीतिमा होमिएका लिम्बू जनप्रतिनीधि सँधै जनताको समस्यामा सहयोगी भएर काम गर्नुपर्ने बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्