किसानलाई उन्नत जातको बिउ दिएर धानको उत्पादन तीन गुणा वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिनुभएको छ । बुधबार दिउँसो कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणिकरणका बिषयमा छलफल भएको थियो ।
सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै बर्षदेखि घटाउनुपर्ने दबाब रहेको बताउनु भयो । ‘दुई महिनादेखि मैले धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनू भनिरहेको छु तर तपाईहरु (कृषि मन्त्रालयका कर्मचारी) ले चासो नै दिनुभएको छैन’ उहाँले भन्नुभयो । मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बिउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्यांकसहित बिहीबार पुनः छलफलमा आउन निर्देशन दिनुभएको छ ।
‘हामीले उन्नत जातको बिउ प्रयोग ग¥यौं भने यसै बर्षदेखि कम्तीमा तीन गुणा बढी धान उत्पादन गर्ने देखिन्छ । यो काम गर्न ढिला नगरौं’ उहाँले भन्नुभयो, ‘मंसिरमा धान काट्दा उत्पादन तीन गुणा बढायौं भने हामीलाई पुग्छ, आयात गर्नुपर्दैन ।’ उन्नत जातको बिउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदान बापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने उहाँले बताउनुभयो ।
‘उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस्, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने देखिएको छ’ अर्थमन्त्री शर्माले भन्नुभयो । छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । ‘सरकारले बोलाएर काम दियो भने उनीहरु उत्साहित हुन्छन्’ सचिव मरासिनीले भन्नुभयो ।
छलफलमा कृषि सचिव डा. गोविन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सूचीकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताउनुभयो । धानको उत्पादकत्व औसतमा ३.५ मेट्रिक टन प्रतिहेक्टर रहेको जानकारी दिदै उन्नत जातको बिउ बितरण गरे उत्पादनमा धेरै सुधार हुने जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्