सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगर पालिकामा भागवण्डा टुंग्यायो, कहाँ कस्को भाग ?

काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगर पालिकामा भागवण्डा टुंग्याएको छ ।

भागवण्डामा पार्टीका शीर्ष नेताहरु कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी छन् ।

सहमति अनुसार कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुखमा तथा वीरगञ्ज, भरतपुर र पोखराको उपप्रमुखमा उम्मेदवारी दिनेछ । धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा तथा जितपुर–सिमरा, घोराही र हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखमा कांग्रेसले उम्मेदवारी दिनेछ ।

सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र)ले भने भरतपुर महानगरपालिकाको प्रमुख र ललितपुर महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ । माओवादी केन्द्रले जितपुर–सिमरा र घोराही उपमहानगरपालिकाको प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

नेकपा ९एकीकृत समाजवादी०ले पोखरा महानगरपालिकाको प्रमुख तथा काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिने सहमति जुटेको छ । हेटौंडा उपमहानगरपालिकाको प्रमुख तथा इटहरी, बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा एकीकृत समाजवादीले उम्मेदवारी दिनेछ ।

सत्तारुढ अर्को घटक जनता समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिकाको प्रमुखमा र विराटनगर महानगरपालिकाको उपप्रमुखमा तथा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्ज उपमहानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिनेछ ।

पाँचदलीय गठबन्धनले जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदवारहरुको चयन गर्न पनि निर्देशन दिइएको छ । सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समझदारी भएको छ ।


प्रतिक्रिया दिनुहोस्