‘मिराज’– प्रेमको आधुनिक प्रतिबिम्ब

पाठकीय अभिमत

कृष्ण ढुङ्गेलबाट लेखिएको उपन्यास ‘मिराज’ बजारमा आएको छ। उपन्यासले वर्तमान समयको बदलिँदो प्रेमको तस्वीर प्रस्तुत गर्ने जमर्को गरेको छ। युवाको परिप्रेक्ष्यबाट ९नजरबाट अन्तरलिंगीय प्रेमलाई हेर्ने, भोग्ने र महसुस गर्ने कथानक यस उपन्यासमा पाइन्छ।

यसैले पनि समग्र उपन्यास पढ्दा पाठकको मनमा अहिलेको सबैभन्दा पछिल्लो समयको युवा पुस्ताले भोगीरहेका यावत् समस्या र तीनका खास कारणबारे कौतुहलता जागिरहन्छ।

नेपाली समाजमा अझै पनि प्रेमलाई विविध बन्धनहरूमा कैद गर्ने गरिन्छ। समाजले अझै पनि प्रेमलाई हेर्ने दृष्टिमा परिवर्तन ल्याउन सकेको छैन। हिजोसम्म प्रेम गरेकै कारण यातना एवं सामाजिक बहिस्कारसम्म हुने गर्दथ्यो।

पहिला पहिला उपन्यास एवं कथाहरूमा टेलिफोन संवाद तथा चिठीको अंश अत्यधिक पाइन्थ्यो। अहिले त्यो युग समाप्त भइसकेको छ। यसकारण पनि हुन सक्छ उपन्यासमा फेसबुक संवाद अत्यधिक पाइन्छ। यो समयको माग पनि हो तर अझै पनि हामी फेसबुकबाट जटिल संवादहरू गर्दैनौँ। फेसबुक कुराकानी कहिलेकाहिँ संवेदनाहीन पनि बन्न पुग्छ। मिराजमा पनि फेसबुक कुराकानीको क्रम लामो छ। यसले पाठकलाई झिझर्को पनि लाग्न सक्छ।

पूर्वी नेपालको झपा, इलाम लगायतको भूगोल समेटेर लेखिएको यस उपन्यास पढ्दै जाँदा पाठक आफू पनि त्यही भूगोलमा क्रियान्वित रहेको आभास हुन्छ। यो उपन्याको सबल पक्ष हो। साथै उपन्यासका पात्रहरूले यस उपन्यासमा निभाउको भूमिकाले गर्दा उपन्यास निकैै सान्दर्भीक बन्न पुगेको छ।

प्रवृत्तिका आधारमा उपन्यासको पनि वर्गीकरण हुने गर्दछ। समालोचनामा मात्र होइन एक जिम्मेवार पाठकको मनमा कुनै पनि पुस्तक पढेपछि त्यसमा आलोचकीय दृष्टि राखेर मनन गर्ने स्वभाव भइनै हाल्छ। यस पक्षबाट हेर्दा ‘मिराज’लाई सामाजिक यथार्थवादी तथा मनोविश्लेषणवादी उपन्यास भन्दा पक्कै फरक पर्दैन।

यद्यपि वादहरू सृजनाका सम्पूर्णता नाप्ने साध्य भने होइनन्। सबैभन्दा मुख्य कुरा त पाठकको मनले कथालाई आत्मसात् गर्नु नै हो। यसमा आख्यानकार ढुङ्गेल सफल देखिन्छन्।

उपन्यासमा धेरै घटनाक्रम समाविष्ट हुन्छन्, यस्तो कथानकलाई जटिल कथानक भनिन्छ। यसको केन्द्रीयतामा घटनाको कार्य–कारण सम्बन्ध जोडिएको हुन्छ। कुनै एक घटना अर्कोमा शृङ्खलित नभएको पनि हुन सक्छ। ‘मिराज’ पढ्दै जाँदा पाठकलाई कथानकले तानिरहन्छ। पाठक संवादले घेरिन पनि सक्छ तर कथाको मर्म बुझेर पढ्दा मिराजले मानिसको मनलाई झङ्कृत पार्दछ। पत्तै नपाई पाठकको मनमा एकखालको बिम्ब सृजना भइसकेको हुन्छ।

प्रणय दिवस नजिकिँदै छ। युवायुवती यस दिनलाई विशेष दिनका रुपमा लिन्छन्। पश्चिमा समाजमा त प्रणय दिवस ९भ्यालेन्टाइन डे को अत्यन्त विशेष महत्त्व रहेको पाइन्छ। यो दिन आफैँमा उत्सव हो, अवसर हो।

वास्तवमा प्रेम आफैँ हुने कुरा हो। र भइसकेपछि यसलाई वहन गर्न भने मानिसमा उपयुक्त सीप हुनैपर्छ। सीप पढेर, हेरेर अनि आत्मसात् गरेर सिक्न सकिन्छ।

आउँदै गरेको प्रणय दिवसमा ‘मिराज’ सबैभन्दा प्रेमील सौगात बन्न सक्छ। यति मात्र होइन प्रेम गर्नेहरूले यसलाई सँधै सौगात मानेर आफ्नै हृदयको पुस्तक मान्न सक्छन्।


प्रतिक्रिया दिनुहोस्