नेपाल बार अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित

काठमाडौं । नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । उनी १४ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन् । यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७२८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गरेका छन् ।

बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ। बारको निर्वाचनमा ७४२९ मत खसेको थियो ।अब १४२९ मतगणना गर्न बाँकी छ । घिमिरे १७५१ मतले अगाडि छन् । अब गणना गर्न सबै मत अधिकारीले पाए पनि घिमिरेको भन्दा कमै हुन्छ । आज मतगणना सक्ने तयारी भइरहेको बताइएको छ ।

त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनालले ३१७५ मत प्राप्त गरेकी छन् । अर्का उम्मेदवार केदारप्रसाद कोइराला २३४५ पाएका छन् । यसैगरी, कोषाध्यक्षमा भरतबहादुर राउतले ३४७५ मत पाएका छन् । अर्का उम्मेदवार जगतबहादुर कार्कीले २१८८ मत पाएका छन् ।

मङ्गलबार बिहानदेखि मतगणना शुरु भएको थियो । बिहीबार राति मतगणना स्थगित भएको छ भने आज बिहान ९ बजेबाट पुनःमतगणना प्रारम्भ गरिने भएको छ । १९ चैतमा अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा ७४२९ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्