इजरायल रोजगारी : नेपाली कामदारको भिसा र सम्झौतापत्रको प्रक्रियामा ढिलाइ प्रकाशित मिति : 25 March, 2022 9:04 am काठमाडौं । दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट कामदार इजरायल जान ढिलाई भएको छ । इजरायलको परराष्ट्र मन्त्रालयमा उत्पन्न श्रम विवादले नेपालबाट जाने सहयोगी कामदारको भिसा र सम्झौतापत्रको प्रक्रियामा ढिलाइ भएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागले बिहीबार सूचना जारी गरी इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने सहयोगी कामदारका लागि छनोट भएका १ हजार १ सय ७५ मध्ये २ सय ९७ जना उडिसकेको अवस्थामा इजरायलको परराष्ट्र मन्त्रालयमा श्रम विवाद उत्पन्न भएको बताएको छ । विभागले सोही कारणले छनोटमा परेका बाँकीको इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीको श्रम विवादका कारणले भिसा र सम्झौतापत्र आउन नसकेको बताएको छ । इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौता पत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ । शुरूवातमा पाँच वर्षको लागि जाने नेपालीले प्रत्येक वर्ष भिसा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।