सात वायुसेवा कम्पनीले सरकारलाई ९ करोड १६ लाख बक्यौता तिर्न बाँकी

काठमाडौं । सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौँदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ ।

रकम बुझाउन पटक/पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गरिए पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर सात दिनभित्र रकम तिर्न भनेको छ ।

बक्यौता नतिर्नेमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउन्टेन एयर, कस्मिक एयर, स्काइलाइन एयरवेज र एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन् ।

प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार, गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले ६ लाख १० हजार कस्मिकले ३ करोड ४७ लाख, स्काइलाइनले ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ ।

बक्यौता नतिरे नागरिक उड्डयन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनीलाई हवाईसेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी पनि दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्