मेरिङदेन माङहिममा चासोक तङनाम भब्य रुपमा सम्पन्न

बि.पि. साम्याङखाम

ताप्लेजुङ । लिम्बूहरूको महान चाँड  चासोक तङ्नाम अर्थात ‘न्वागी पुजा’  भव्यताका साथ सम्पन्न भएको छ । लिम्बूहरूको ऐतिहासिक थलो मेरिङदेन गाउँपालिकामा अवस्थित तोसुयक माङहिम परिसरमा प्रमुख अतिथि मेरिङदेन ५का वडा अध्यक्ष जयबहादुर खड्काले केस् (ढोल) बजाएर  उध्घाटन गर्नुभएको कार्यक्रममा बिभिन्न सांस्कृतिक झाकी, एकराते तङसिङ, केःलाङ, धाननाच, पालाम, हाक्पारे, ख्याली र मौलिक खेलकुदहरू पङलुम, लिस्आप्मा, लङजम्प र फुटबल आयोजना गरिएको थियो ।

प्रत्येक वर्ष मंसिर पूर्णिमाको दिन मनाइने यो चाँडलाई हिन्दूहरुले धान्य पूर्णिमा, किराँत याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बुले चासोक र राईले उँधौली पर्वका रुपमा मनाउने गर्छन् । केही वर्षदेखि नेपाल सरकारले मंसिर पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक बिदा दिन थालेको छ । 

नेपाली भाषामा ‘चासोक’को शाब्दिक अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ चाडपर्व रहेको आयोजक समितिका सचिव बिक्रम चोङबाङले बताए । लिम्बूहरूले चासोकको दिन चुम्लुङ हिममा भेला भएर आफ्नो खेतमा पाकेको नयाँ अन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफु माङलाई चढाएर घरघरमा पूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खाने प्रचलन छ ।

मेरिङदेनको तोसुयक माङहिम परिसरमा पौष ४ देखि ७ गतेसम्म आयोजना गरिएको कार्यक्रममा बिहानै देखि भिड लागेको थियो । जिल्लाका अन्य स्थानमा रहेका लिम्बू र याक्थुहरुको ऐतिहासिक ठाउँहरुमा पनि पूजा गर्नेहरूको भिड लागेको थियो ।


प्रतिक्रिया दिनुहोस्