डिपिएल: काठमाडौँद्वारा धनगढीसामु १२८ रनको लक्ष्य प्रकाशित मिति : 10 April, 2018 3:53 pm धनगढी / धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौँ गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए । बलिङतर्फ धनगढीका लागि सोमपाल कामी र ललितसिंह भण्डारीले दुई-दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक-एक विकेट लिए । गोल्डेन्स र चौराहा धनगढीबीच भएको खेलमा व्याटिङ गर्दै काठमाडौँं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल । तस्वीर : रोशन सापकोटा अहिले धनगढीले जवाफी ब्याटिङ गरिरहेको छ । धनगढीले १३ ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको छ । रोहन मुस्तफा ३३ र सुनिल धमला १३ रन बनाएर आउट भएका छन् । रासस