‘मिटरब्याजी’ साहु यादवलाई २० करोड बिगो : १५ लाख धरौटीमा छाड्न अदालतको आदेश – अदालतको निर्णयप्रति पीडितको आपति प्रकाशित मिति : 12 February, 2020 3:42 pm सर्लाही । सर्लाहीका कुख्यात ‘मिटरब्याजी’ साहु रामबाबु राय यादवलाई १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत सर्लाहीले आदेश दिएको छ । मिटरब्याजी यादवलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि स्थानीय पीडितहरुले आपत्ति जनाएका छन् । मंगलबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आरोपी यादवलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, यादवले धरौटी बापतको रकम जम्मा नगरेपछि कारागार चलान भएका छन् । मंगलबार साँझ नै यादवलाई सुनसरीको झुम्का कारागार पठाइएको जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिएका छन् । यादवको सम्पत्ति छनविन गर्न सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा परेको छ । मुद्दापछि अदालतले यादवको सम्पूर्ण सम्पत्ति रोक्का गरेको छ । सम्पत्ति रोक्का भएका कारण धरौटी बापतको रकम बुझाउन नसकेको उनका भाइ लालबाबु राय यादवले बताएका छन् । यादवविरुद्ध २८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् । पीडितले दिएका २८ उजुरीको आधारमा प्रहरीले २० करोड ४४ लाख रुपैयाँ बिगो दाबीसहित यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ । ‘यति ठूलो बिगोसहितको मुद्दाका अभियुक्तलाई १५ लाख रुपैयाँ धरौटीमै छाड्ने न्यायाधीशको निर्णयविरुद्ध पीडितले न्यायपरिषद गुहार्ने तयारी गरेका छन्,’ पीडितको पक्षमा पैरबी गर्दै आएका नेकपा सर्लाहीका नेता कमल बुढाथोकीले भने, ‘यो निर्णयमा न्यायाधीशको बदनियत देखिएको पीडितको आशंका छ ।’ यादवलाई प्रहरीले २३ पुसमा पक्राउ गरेको थियो। अर्का सुदखोर सञ्जय साह रौनियार भने अझै फरार छन् । यादवलाई १५ लाख धरौटीमै छाड्ने निर्णय विरुद्ध सरकारी वकिलले पनि पुनारावेदन गर्ने तयारी गरेका बुढाथोकीले जानकारी दिए । यादव र रौनियारको मिटरब्याजबाट सर्लाही, महोत्तरी, रौतहटलगायतका जिल्लाका १३ सय बढी सर्वसाधारण पीडित भएको अनुमान छ । नयँपेजबाट