पाँचथर गोल्डकपको स्टेज र साउन्ड सिस्टम तोडफोड

पाँचथर, २६ चैत्र / दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आइतबारबाट सुरु भइसकेको छ । उद्घाटन खेलमा विजयी हुँदै मिसन युनाइटेड ताप्लेजुङ सेमिफाइनल पुगिसेको छ । तर, राती नै प्रतियोगिताका लागि बनाइएको स्टेज र साउन्ड सिस्टम गए राती अज्ञात समूहले तोडफोट गरेका छन् ।

स्टेज कुर्ने व्यक्ति खाना खान गएको मौका पारेर तोडफोड भएको आयोजक पाँचथर क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिएका छन् । उनका अनुसार तोडफोडबाट झन्डै २ लाख रुपैयाँ बराबरको क्षति भएको छ । तोडफोडबाट मोनिटर २ थान ,स्पिकर १ थान , कुर्सी ३ दर्जन र साउन्ड सिस्टमका सम्पूर्ण रुपमा क्षति भएको अध्यक्ष मगरले बताए ।

तोडफोड गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । दोषीमाथि कारवाही गर्न आयोजक पाँचथर क्लबले प्रशासनसँग माग गरेको छ । तोडफोडका वावजुद प्रतियोगिता भने जारी रहने अध्यक्ष मगरले जानकारी दिए । आज डिएफसी मोरङ र रेडहर्स इलामबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्