शल्यक्रिया गर्दा सुत्केरीको ज्यान गयो प्रकाशित मिति : 26 September, 2019 2:11 pm पाल्पा, असोज ९ / पाल्पामा सुत्केरी हुन आएकी महिलाको शल्यक्रिया गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका–४ हुमिन लोरेङगका २४ वर्षीया विपीन्द्र सूयवंशी हुन् । पाल्पाको युनाइटेड मिसन अस्पतालमा सूर्यवंशीको शल्यक्रिया गरेको दुई÷तीन घण्टापछि मृत्यु भएको आफन्त बलराम सूर्यवंशीले बताए । बुधबार राति ११ बजेतिर उनको मृत्य भएको हो । तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । सामान्य अस्पताल आएकी सूर्यवंशीको पेटको बच्चा मरिसकेको चिकित्सकले जनाएका थिए । मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । श्रीमान केशर सूर्यवंशीका अनुसार सुत्केरी विपीन्द्र राति धेरै पटक छटपटाएकी थिइन् । छटपटीमा हटेको अक्सिजनको नली नर्सहरूले जोड्न नसक्दा मृत्यु भएको आफन्तको आरोप छ । रासस