हिन्दु धर्मगुरु आचार्यमाथि गोली प्रहार प्रकाशित मिति : 8 April, 2018 1:52 pm विराटनगर, २५ चैत / बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुनुभएका आचार्यको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई दाहिनेतर्फको माथिल्लो भागमा गोली लागेको छ । यतिखेर आचार्य खतरामुक्त रहेको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । उहाँ विराटनगर– १४ स्थित रामजानकी मन्दिरमा आजदेखि शुरु हुने भनिएको श्रीमद्भागवत पुराणवाचन गर्नका लागि आउनुभएको हो । अभियुक्तको खोजवीन भइरहेको प्रहरीले जनाएको छ । विराटनगरमा हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि भएको गोली प्रहारको घटनालाई राप्रपाले भत्र्सना गरेको छ । सो पार्टीका प्रवक्ता भुवन पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै आचार्यलाई हत्या गर्ने उद्देश्यले गोली प्रहार गरिएको उल्लेख छ ।‘यो घटना विगत केही समयदेखि हिन्दुत्वलाई कमजोर बनाउने, हिन्दुत्वप्रति समर्पित अभियन्ताहरु, धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभित तुल्याउने प्रयासको योजनाबद्ध श्रृखलाको एक कडिको रुपमा राप्रपाले लिएको छ । घटनाको तत्काल छानविन गरी अपराधीलाई कानुन बमोजिम कडा सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन धार्मिक गुरुहरु एवं धार्मिक व्यक्तित्वहरुको सुरक्षाको आवश्यक प्रवन्ध मिलाउन सरकारसँग राप्रपा माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ । राप्रपाले घाईते आचार्य श्रीनिवासको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।