पर्यटन वर्षलाई सहयोग पुग्ने खालको कार्यक्रम गर्छौं प्रकाशित मिति : 28 August, 2019 11:36 am प्रयास लिम्बू ताप्लेजुङ भदौ १० / ताप्लेजुङमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) सहित दुई संस्थाले पर्यटन वर्ष २०२० लाई सघाउ पुग्ने खालका कार्यक्रम गर्ने भएका छन् । फेकोफन जिल्ला महासङ्घ र हिमाली संरक्षण मञ्चले होमस्टे, हरित उद्यान लगायतका पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेखालको कार्यक्रमहरु गर्न लागेका हुन् । उक्त दुई संस्थाले मङ्गलबार सदरमुकाम फुङ्लिङमा आगामी कार्यक्रमबारे जानकारी गराउँदै नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर पर्यटन वर्षको रुपमा सन् २०२० लाई घोषणा गरेको योजनालाई सघाउ पुग्ने खालका कार्यक्रमहरु गर्न लागेका जनाएका छन् । सन् २०१९ र २० गर्ने कार्यक्रमबारे जानकारी दिँदै ती संस्थाले संस्थाको उद्देश्यबमोजिम गर्नुपर्ने भए पनि यसपटक पर्यटन वर्षलाई समेत दृष्टिगत गरेर कार्यक्रम तयार गरेको जानकारी दिएका छन् । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) अन्तर्गत तिनजुरे मिल्के जलजले संरक्षण क्षेत्र आयोजनाको आर्थिक सहयोगमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेखाले लगायतका कार्यक्रमहरु गर्न लागेको फेकोफन जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । ओझाले वन जङ्गलको संरक्षण गरी पर्यावरण जोगाउने खालका कार्यक्रमसँगै पर्यटक आकर्षित गर्ने किसिमका कार्यक्रम गरिने बताउनुभयो । गुराँसको राजधानी तिनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र अन्तर्गत गुफापोखरी देखि मैवाखोला गाउँपालिकाको साँघु, फाकुम्बा, मेरिङ्देन गाउँपालिकाको गुराँसे पोखरी सान्थाक्रा हुँदै मिक्वाखोलाको पापुङ तोक्पेगोसम्म पर्यटकीय स्थल रहेको क्षेत्रको संरक्षणमा केन्द्रित रहेर क्रियाकलाप गर्ने उहाँले बताउनुभयो । पर्यटकीय क्षेत्रअन्तर्गत रहेका उजाड जङ्गल तथा भूमिमा वृक्षरोपण गरी हरित उद्यान, हरित मार्ग निर्माण, दुर्लभ रेडपान्डा, मृग, घोरल, डाँफे, मुनाल जस्ता जीवजन्तुको संरक्षण तथा वृद्धि विकासमा सघाउ पु¥याउन ठाउँठाउँमा पोखरी निर्माण गर्ने क्रिकाकलाप गरिने उहाँले जानकारी दिनुभयो । यस्तै हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक सन्दिप सुवेदीले पनि पर्यटन वर्षलाई नै सघाउ पु¥याउनेगरी आगामी कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । आर्थिक सहयोग उपलब्ध गराउने निकायको उद्देश्यमा असर नपुग्नेगरी रेडपान्डाको संरक्षणमा केन्द्रित कार्यक्रम लगायत पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नेगरी पदमार्ग निर्माण, होमस्टे स्थापना लगायतका कार्यक्रम गरिने सुवेदीले बताउनुभयो । तिनजुरे मिल्के जलजले संरक्षण क्षेत्र आयोजनाको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले २९ लाख र फेकोफनले ७० लाख रुपियाँ बराबर बजेट खर्च गरेर कार्यक्रमहरु सञ्चालन गर्ने भएका हुन् । यता उद्देश्य र लक्ष्य प्राप्त हुनेगरी योजना कार्यान्वयनमा जोड दिन प्रवद्र्धक संस्थाहरुलाई जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले सुझाव दिनुभयो । मादेनले पर्यटन विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको क्षेत्र भएकाले योजनालाई प्रभावकारी कार्यान्वयन गर्नतर्फ ध्यान दिएमा लक्ष्य हासिल गर्नलाई कुनै असहजता नरहेको बताउनुभयो । उहाँले योजनाको बेलाबेलामा निरीक्षण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक हुने पनि सुझाव दिनुभयो ।