पत्रकार पुडासैनीले डोरी किनेको पसल भेटियो, प्रकाशित मिति : 19 August, 2019 3:08 pm चितवन, भदौ २ / नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको दुई सातापछि आत्महत्याअघि डोरी किनेको पसल फेला परेको छ ।घटना अनुसन्धानका क्रममा नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको चितवन प्रहरीले जानकारी दिए। होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेको देखिएको छ । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए । पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पुडासैनी मृत्यु प्रकरणमा तानिएका न्यूज २४ का प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान चलिरहेको छ । आत्महत्याअघि पत्रकार पुडासैनीले लामिछानेसहित तीन जनाका कारण आफू आत्महत्या गर्न वाध्य भएको भन्दै भिडियो खिचेका कारण उनीहरु यस घटनामा तानिएको हो ।