ताप्लेजुङ अस्पतालमा बिरामीको चाप प्रकाशित मिति : 6 August, 2019 11:48 am प्रयास लिम्बू ताप्लेजुङ साउन २१ / ताप्लेजुङमा केही दिनयता बिरामीको चाप अत्यधिक बढेको छ । अस्पताल स्रोतका अनुसार साउन महिनाको पहिलो सातापछि बिरामीको चाप ह्वात्तै बढेको हो । जिल्ला अस्पतालको ओपीडीमा सेवा लिनेको सङ्ख्या ४० देखि ५० जनासम्म रहँदै आएकोमा हाल दोब्बरभन्दा बढीले वृद्धि भएको छ । हिजोआज दैनिक एक सय २० जनाभन्दा बढी ओपीडी सेवा लिने बिरामीहरु आउने गरेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । डाक्टर लामाका अनुसार ओपीडी सेवामा टिकट लिनेको लाइन नै लाग्ने गरेको छ भने आकस्मिक कक्ष (इमर्जेन्सी) मा पनि धेरै बिरामीले उपचार गराइरहेका छन् । जिल्ला अस्पतालका प्रमुख समेत रहनुभएका डा. लामाले सबैभन्दा बढी ज्वरोका बिरामीहरु आउने गरेका बताउनुभयो । ज्वरोको सङ्क्रमित बिरामी पछि टाइफाइटका बिरामी पनि धेरै रहेका उहाँले बताउनुभयो । उहाँका अनुसार कतिपय १४० डिग्रीसम्म ज्वरो भएका बिरामीहरु पनि अस्पतालमा उपचार सेवा लिन आउने गरेका छन् । ज्वरोसँगै झाडापाखाला, बान्ता गर्ने, टाउको दुख्ने, रुघाखोकी जस्ता समस्याबाट सङ्क्रमित बिरामीहरु आउने गरेका र बिरामीको सङ्ख्या घट्नुको सट्टा बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ । हाल जिल्ला अस्पतालमा रहेका प्रसूति कक्ष समेत ३५ वटै शैया (ओछ्यान) भरिभराउ रहेको डाक्टार लामाले जानकारी दिनुभयो । अस्पतालमा उपचार गराएर फर्कने भन्दा आउने बिरामीको सङ्ख्या बढी भएकोले अब अझै सङ्ख्या बढ्दै गएमा बिरामीलाई भुइँमा राखेर उपचार सेवा प्रवाह गर्नुपर्ने अवस्था आउनसक्ने लामाको भनाइ छ । हिजोआज जिल्ला अस्पतालमा मात्रै नभई ग्रामीण क्षेत्रका स्वाथ्य संस्थाहरुमा पनि बिरामीको चाप उत्तिकै रहेको बताइएको छ । गर्मी मौसमको अन्त्य भई चिसो मौसम सुरु हुने समय भएकाले अहिले मौसमी बिरामीको सङ्ख्या बढ्दै गएको अस्पतालले जनाएको छ । सधैं मौसम परिवर्तनको समयमा हुने यसखाले समस्याबाट बच्नलाई पानी राम्ररी उमालेर उपभोग गर्नुपर्ने, अन्य उपभोग्य वस्तुहरु पनि राम्ररी धोईपखाली गरेर र पाक्नेगरी पकाएर सेवन तथा उपभोग गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । यता बिरामीको चाप बढ्दै गइरहेको भए पनि हालको मौसमलाई मध्यनजर गरेर भर्खरै निःशुल्क वितरण गर्ने औषधि खरिद गरिएकाले आवश्यक औषधि भने उपलब्ध रहेको डा. लामाले जानकारी दिनुभयो ।