प्रहरीको भ्यान दुर्घटना हुँदा २ कैदीको मृत्यु, ८ घाइते प्रकाशित मिति : 26 June, 2019 2:02 pm रौतहट असार १० / इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अनुसन्धानको लागि प्रहरी हिरासतमा राखेको चार जना अभियुक्तको म्याद थप गर्न लैजाने क्रममा प्रहरीले प्रयोग गरेको भ्यान दुर्घटना हुँदा दुई जना अभियुक्तको ज्यान गएको छ । १० जना सवार उक्त भ्यान दुर्घटना हुँदा छ जना प्रहरी र दुई जना अभियुक्त घाइते पनि भएका छन् । जसमध्ये दुइ जना प्रहरी जवान गम्भिर छन् । विभिन्न घटनाका अभियुक्तको म्याद थप गर्न जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय गौर लैजाने क्रममा मंगलबार अपरान्ह चन्द्रपुर नगरपालिका–१० बालचनपुरमा भ्यान दुर्घटना भएको हो । गम्भिर घाइते रहेका चन्द्रपुर नगरपालिका–६ का लागु औषध इन्जेक्सन मुद्दाका मुकेश भनिने निरमल साह र सुनसरी इनरुवा नगरपालिका–९ का सवारी ज्यान मुद्दाका रमेशकुमार चौधरीको उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको हो । यसैगरी गम्भिर घाइते भएका प्रहरी जवान अजयकुमार यादव र हरिकिशोर चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले जानकारी दिनु भयो । अभद्र व्यवहार मुद्दाका चन्द्रपुर नगरपालिका–८ का कुमार गेलाल र टेकबहादुर तामाङ् सहित प्रहरी सहायक निरीक्षक दिनेश चौलागाई, प्रहरी हवल्दार उमेश यादव, प्रहरी जवान विनोदप्रसाद मण्डल र सञ्जिपकुमार कार्की सामान्य घाइते भएका छन् । उनीहरुको चन्द्रपुर अस्पतालमै उपचार गरिएको छ । दुर्घटनाग्रस्त भ्यान इलाका प्रहरी कार्यालय डुमरियामा राखिएको छ । तस्करले काठ तस्करी गर्ने क्रममा डिभिजन वन कार्यालय रौतहटद्वारा बरामद भएको भ्यान प्रहरीले प्रयोग गरेको बुझिएको छ । पत्रकारले भ्यानको बारेमा बुझ्न खोज्दा इलाका प्रहरी कार्यालयका प्रहरी अधिकृत मौन रहे । जीपको पट्टा भाँचिनुको साथै पछाडीको टायर पन्चर भएर दुर्घटना भएको बुझिएको छ । डिभिजन वन कार्यालय रौतहटमा उक्त जीप अनुसन्धानको दायरामा रहेको छ ।