ताप्लेजुङमा स्वास्थ्य शिविर सर्वसाधारणलाई राहतको महशुस प्रकाशित मिति : 24 June, 2019 2:40 pm ताप्लेजुङ असार ९ / ताप्लेजुङमा सञ्चालित एकदिने स्वास्थ्य शिविरबाट करिव साढे चारसय सर्वसाधारण लाभान्वित बनेका छन् । सदरमुकाम फुङ्लिङमा शनिबार समिट लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरबाट उक्त सङ्ख्यामा सर्वसाधारण लाभान्वित बनेका हुन् । स्त्रीरोग, आँखा र कानका विरामीलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य शिविरमार्फत कुल चार सय २२ जनाले लाभ लिएका छन् । शिविरमार्फत आँखा र कानका तीन सय १२ जना तथा स्त्रीरोगका एक सय १० जनाले शिविरमा उपचार सेवा तथा स्वास्थ्य परीक्षण गराएको समिट लघुवित्त वित्तीय संस्था ताप्लेजुङ शाखाका प्रमुख टेकनाथ अधिकारीले जानकारी दिनुभयो । शिविरमा निःशुल्क स्वास्थ्य जाँच तथा भिडियो एक्सरे समेतको सेवा प्रदान गरिएको अधिकारीले बताउनुभयो । यस्तै चश्मा लगाउनुपर्ने अवस्थाका आँखाका बिरामीलाई निःशुल्क चश्मा समेत वितरण गरिएकोसमिट लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुख भोजराज फुयाँलले जानकारी दिनुभयो । फुयाँलका अनुसार स्त्रीरोगीसम्बन्धी झापाको बिर्तामोडस्थित अञ्जली अस्पतालका डाक्टर गौरीशंकर झाले स्वास्थ्य उपचार तथा परीक्षणको सेवा दिनुभएको थियो । यस्तै कानको उपचारमा डाक्टर हेमनारायण यादव र आँखाको उपचारमा दृष्टि आँखा अस्पतालका चिकित्सक कबिन्द्र राजबंशी र किशोर रिजालले सेवा दिनुभएको थियो । सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय संस्थाले दुर्गम, ग्रामीण र बिपन्न समुदायका सदस्यको सहयोगार्थ शिविर आयोजना गरेको जनाएको छ । फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई (तारा) ले उद्घाटन गर्नुभएको शिविरमा स्वास्थ्य उपचार तथा परीक्षण सेवा लिन पाउँदा स्थानीय सर्वसाधारणले राहतको महशुस गरेका छन् ।