धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली बन्न बालकको बलि प्रकाशित मिति : 31 May, 2019 1:45 pm जनकपुरधाम । धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नरबलिका रूपमा एक बालकको हत्या गरिएको छ । मिथिला नगरपालिका–६ का शम्भुकुमार साहका छोरा साढे दुई वर्षीय आर्यन भनिने समीरकुमार साहको हत्या गरिएको हो । हत्या गर्ने धनुषा जिल्ला मिथिला नगरपालिका–६ का फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । गत वैशाख २३ गते बेलुका ५ बजे महतोले आफ्नो घरको ढोकामा फूलको बोटनजिक खेलिरहेको अवस्थामा ती बालकलाई ललाइफकाइ अपहरण गरी आफ्नै घरमा बन्धक बनाएका थिए । त्यसको भोलिपल्ट २४ वैशाखको राति २ बजेतिर चमेनिया माय भन्ने देवताका नाममा आफ्नै घर आँगनमा धारिलो हतियारले बालकको घाँटी रेटी मारेको प्रहरीले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।