यार्सा टिप्न डोल्पा पुगे आठ हजार प्रकाशित मिति : 29 May, 2019 6:46 am काठमाडौँ जेठ १५ / डोल्पाका विभिन्न पाटन मंगलबारदेखि यार्सागुम्बा संकलनका लागि खुला भएका छन् । भोक्पा, भाङ्का, कुनास, सागबारीलगायतका सत्तरीभन्दा धेरै पाटन यार्सागुम्बा संकलनका लागि औपचारिक रूपमा खुलेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । मंगलबारसम्म सात हजार नौ ९९ मानिस विभिन्न पाटनमा भेला भएका छन् । निकुञ्ज क्षेत्रभित्र सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सा संकलन गर्नेहरू प्रवेश गरेको निकुञ्जका रेञ्जर छत्र खड्काले जानकारी दिए । मुगुमा पर्ने डोल्फु र किम्री नाकामा फोन सम्पर्क नभएकाले वास्तविक संख्या आउन बाँकी रहेको उनको भनाइ छ । यस वर्ष निकुञ्जका क्षेत्रमा पर्ने पाटनमा साढे नौ हजारको हाराहारीमा यार्सागुम्बा टिप्न मानिसहरू प्रवेश गर्ने अनुमान गरिएको छ । निकुञ्जबाहेक सामुदायिक वनभित्रका रूपपानी, पोखेपानी, साइक्वारीलगायतका पाटनमा यार्सागुम्बा टिप्न प्रवेश गर्नेको तथ्यांक निकुञ्जले राख्ने गरेको छैन । प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनका पाटनमा गरी २० हजारको हाराहारीमा सर्वसाधारणले यार्सागुम्बा संकलन गर्ने बताइएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा डोल्पाबाट रामचन्द्र न्यौपानेले लेखेका छन्। एक करोड ९१ लाख ३१ हजार राजस्व यार्सागुम्बाको संकलन पुर्जी वितरणबाट एक करोड ९१ लाख ३१ हजार पाँच सय रुपैयाँ राजस्व उठेको छ । निकुञ्ज क्षेत्रमा पर्ने १४ वटा नाकाबाट लगातार चार दिनसम्म संकलन पुर्जी वितरण गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । मुगु जिल्लामा पर्ने डोल्फु र किम्री नाकाबाट उठेको राजस्व रकमको परिमाण आउन बाँकी छ । सबैतिर गरी दुई करोड ५० लाख रुपैयाँ हाराहारीमा राजस्व उठ्ने अनुमान गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत यादवले जानकारी दिए । गत वर्ष यार्सागुम्बा संकलन पुर्जी वितरणबाट एक करोड ४१ लाख राजस्व उठेको थियो । गत वर्षभन्दा यस वर्ष २६ प्रतिशतले राजस्वमा वृद्धि भएको निकुञ्जले जानकारी दिएको छ ।