प्रदेश ७ मा ६ सय जनताको एकजना प्रतिनिधि प्रकाशित मिति : 2 April, 2018 3:00 pm १७ चैत, डोटी /संघ, प्रदेश र स्थानीय व्यवस्थापिका गरी प्रदेश ७ बाट चार हजार १४० जना जनप्रतिनिधिहरु चयन भएका छन् । गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट प्रदेशभित्रका ८८ स्थानीय तहमा चार हजार ५६ जनप्रतिनिधिहरु चयन भएका छन । एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेको यस प्रदेशमा स्थानीय तह प्रमुखहरु ८८, उपप्रमुखहरु ८८ र वडाध्यक्षहरु सात सय ३४ निर्वाचित भएका छन् । यस्तै वडा सदस्य एवं एवं गाउँरनगर सभाका सदस्यहरु दुई हजार नौ सय ३६ चयन भएका छन । नेपालको संबिधानको धारा २१५ को उपधारा ४ अनुसार प्रत्येक गाउँपालिकामा दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभाले निर्वाचित गरेका दुई जना सदस्यका दरले एक सय आठ जना निर्वाचित भएका छन । यस्तै संबिधानको धारा २१६ को उपधारा ४ अनुसार प्रत्येक नगरपालिकामा दलित वा अल्पसंख्यक समुदायबाट नगरसभाले निर्वाचित गरेका तीन जना सदस्यका दरले एक सय दुई सदस्य रहेका छन् । मंसिर २१ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा यस प्रदेशबाट ८४ जना सांसद निर्वाचित भएका छन् । ५३ सदस्यीय प्रदेश सभामा प्रत्येक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ सांसद चयन भएका हुन । यस्तै प्रतिनिधि सभाका लागि यस प्रदेशबाट २३ जना चयन भएका छन् । प्रत्येक्षतर्फ १६ जना प्रतिनिधि सभा सदस्य सिट रहेको यस प्रदेशमा समानुपातिकतर्फबाट भने सात जनाले मात्रै स्थान पाएका छन् । निर्वाचन आयोगको वेवसाईटमा राखिएको अभिलेख अनुसार नेकपा एमाललेको तर्फबाट चार, नेपाली कांग्रेसको तर्फबाट दुई र संघीय समाजवादी फोरमको तर्फबाट एक जना मात्रै समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य भएका छन् । यस्तै माघ २४ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा यस प्रदेशबाट आठ जना चयन भएका छन् । २०६८ सालको जनगणना अनुसार प्रदेश ७ को जनसंख्या महिला १३ लाख ३४ हजार ६ सय ३० र पुरुष १२ लाख १७ हजार आठ सय ८७ गरी २५ लाख ५२ हजार पाँच सय १७ रहेको छ । यस आधारमा ६ सय १६ जनसंख्या बरावर एक जना जनप्रतिनिधि हुन आउँछ । source : onlinekhabar